श्याम घिमिरे,
चैत ७ सन्धिखर्क
सन्धिखर्क नगरपालिकाले ७५ जना बुहारीहरुलाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्ष भन्दा बढी उमेरका सासु–ससुरालाई राम्रोसँग पालनपोषण गरेको भन्दै बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उहाँहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले वृद्धवृद्धालाई वृद्धाश्रममा नभइ, घरमै स्याहारसुसार गर्नुपर्छ भन्ने सन्देश दिन नगरपालीकाले असल बुहारीहरुलाई सम्मान गरेको बताउनुभयो ।
सासुससुराको स्याहारसुसार गर्दा आफूहरुलाई उहाँहरुको आशीर्वाद प्राप्त भएको असल बुहारी हरुको भनाइ रहेको छ । वडा कार्यालयले गरेको सिफारिसका आधारमा उहाँहरुलाइ सम्मान गरिएको नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा भुसालले बताउनुभयो । असल बुहारीहरुलाइ करुवा, खादा र आतेजाते भाडासहित सम्मान गरिएको भुसालको भनाइ छ ।
कार्यक्रममा कार्यपालीका सदस्य लिला भुसाल, वडा सदस्य सुन्तला श्रेष्ठ,पत्रकार प्रेमनारायण आचार्यले सम्मानित हुने सबैलाई धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यपालीका सदस्य कृष्णा भुसाल,वडासदस्य शारदा परियार, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीलगायतको उपस्थिति रहेको थियो ।