
श्याम घिमिरे,
अर्घाखाँची असार ९—
यातायात सुरक्षालाई मध्यनजर गर्दै “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालीकाको सहयोगमा चालक तथा सहचालकहरूका लागि विशेष आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अन्तर्गत चल्ने सवारी चालकहरुलाइ लक्षित गरि सोमवार नरपानीमा चेकजाच कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताउनु भयो ।
शिविरमा झण्डै १५० जना चालक र सहचालकको आँखा चेकजाँच संगै स्वास्थ्य परीक्षण गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख निरज गौतमले जानकारी दिनुभयो । परीक्षणमा स्वास्थ्यकर्मीको टोलीले आँखा सम्बन्धी समस्यासंगै उच्च रक्तचापजस्ता सामान्य रोगहरूको चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा ७ जनामा आँखा सम्बन्धी समस्या र ४ जनामा उच्च रक्तचापको समस्या रहेको गौतमले बताउनु भयो । स्वास्थ्य समस्या भएकाहरुलाइ चिकित्सकसंग परामर्शगर्न आग्रह गरिएको गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मल्लले स्वास्थ्य परीक्षण कार्यक्रमले सवारी सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चालकहरूको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको र यसले दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने दाबी गर्नुभयो । चालकहरू दिनरात गाडी चलाउँदा शारीरिक र मानसिक थकान हुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण जरुरी रहेको मल्लको भनाइ रहेको थियो । कार्यक्रममा सहभागी चालक तथा सहचालकहरूले यस्ता खाले कार्यक्रमले आफूहरूलाई स्वास्थ्यप्रति सजग बनाएको भन्दै आगामी दिनमा यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए ।