
श्याम घिमिरे
असार २२ अर्घाखाँची—
एबोड इन्डिया लिमिटेडको आयोजना तथा ग्यास्ट्रो सेन्टर बुटवलको प्राविधिक सहयोगमा सन्धिखर्कमा आयोजित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम (सिएमई) शनिबार सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसालले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो । डा. भुसालले पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाजमा देखिने विभिन्न जटिल तथा साधारण रोगहरूको पहिचान, निदान र उपचारका विधिहरूबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उहाँले अन्तरक्रियात्मक छलफल समेत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अर्घाखाँची अस्पतालका मे.सु डा.जगन्नाथ तिवारीले यस्ताखाले कार्यक्रमहरूले ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा ठुलो योगदान पु¥याउने बताउनुभयो । समय सापेक्ष ज्ञान अद्यावधिक गर्नु स्वास्थ्य सेवा क्षेत्रको गुणस्तर वृद्धिकालागि अत्यावश्यक भएको भन्दै डा.तिवारीले पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज जस्ता संवेदनशील अंग सम्बन्धी समस्याको समयमै पहिचान र उपचारका लागि सीएमई कार्यक्रमहरू अत्यन्तै प्रभावकारी हुनेमा जोड दिनुभयो ।

कार्यक्रमले ग्रामीण भेगमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यस्ता रोगहरूको पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ । सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी र ज्ञानवर्धक रहेको प्रतिक्रिया दिएका छन । एबोड इन्डियाका प्रतिनिधिले सहजिकरण गरेको कार्यक्रम राम प्रसाद अर्यालको सञ्चालन र युवराज थापामगरको व्यवस्थापकिय सहयोगमा सम्पन्न भएको हो ।