पुस ७ –
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जीमा अवस्थित खिल्जी युवा क्लबले नेपाल भलिबल संघद्वारा आयोजना हुने नवौँ एन.भि.ए कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रमअनुसार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा २०८२ पुस ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा क्लबले पुरुषतर्फको टिम दर्ता गराएर प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रतियोगिताका लागि क्लबले १५ सदस्यीय टिम चयन गरेको छ । टिममा नारायण थापा क्षेत्री, अनिश पाण्डे, उमेश थापा क्षेत्री, शेर बहादुर भुलामी मगर, मिसन खड्का, तुसार क्षेत्री, मिलन सुनार, दिल बहादुर रावल, दीपक रेश्मी, सञ्जय सुनार, करन नेपाली र लक्ष्मण सुनार रहेका छन् । यस्तै, टिमको प्रशिक्षकमा दुर्गा बहादुर खत्री, सह–प्रशिक्षकमा निशान रोका र व्यवस्थापकको जिम्मेवारीमा विष्णु बेल्बासे रहेका छन् । साथै, खिल्जीकै युवा व्यक्तित्व प्रकाश दाईले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन् ।

खिल्जी युवा क्लबका अध्यक्ष विष्णु बेल्बासेले प्रतियोगितामा सहभागिताले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि हुनुका साथै राष्ट्रिय स्तरमा क्लबको पहिचान स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि क्लबले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु खिल्जी क्षेत्रका युवाका लागि प्रेरणादायी हुने बताउनुभयो ।








