श्याम घिमिरे
२०८२ पुस १७ अर्घाखाँची —
सन्धिखर्क नगरपालिका–६ नरपानीमा अवस्थित ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण गरिएको छ । श्रीकृष्ण गौशाला सञ्चालक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गौमातालाई तोरिको तेल, भेलि, बरान, सेरलेक्स तथा नुन खुवाइएको छ । श्रीकृष्ण गौशाला सञ्चालक समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार गौमाताको स्वास्थ्य संरक्षण तथा पोषण सन्तुलनलाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिएको हो ।
आयोजक समितिले गौसंरक्षण धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण विषय भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । आहार वितरण कार्यक्रममा श्री सिद्धेश्वर शिवालय संचालक समितिका सचिव कृष्णप्रसाद भुसाल ,सहसचिव नेत्र भुसाल ,मन्दिरका मुख्य पुजेरी सुमन्त पोख्रेल, पत्रकार श्याम घिमिरेलतायतको सहभागीता रहेका थियो ।

पछिल्लो समय गौशाला गाई संरक्षण, सेवा र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित हुँदै गएको छ । सन्धिखर्क २ निवासी धार्मीक तथा सामाजिक व्यक्तित्व नारायण प्रसाद खनालको पहल कदमीबाट सुरु भएको गौसलामा हाल डेढसय भन्दा धेरै गौमाताहरु रहेको समितिले जनाएको छ ।
गौसेवाको प्रेरणादायी पहल
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानी भार्तुमा अवस्थित ॐ श्रीकृष्ण गौशाला गाई संरक्षण, सेवा र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित हुँदै गएको छ । गौशालाले धार्मिक, सामाजिक र वातावरणीय सन्देश फैलाउँदै स्थानीय समुदायमा सकारात्मक प्रभाव समेत पारिरहेको छ ।
उक्त गौशालामा हाल विभिन्न जातका गाईहरूलाई खुला चरन क्षेत्रमै व्यवस्थित रूपमा संरक्षण गरिएको छ । हरियाली वनजंगलको बीचमा रहेको गौशालामा गाईहरू प्राकृतिक वातावरणमा चरिरहेका दृश्यले पशु कल्याण र वातावरण संरक्षणको राम्रो उदाहरण प्रस्तुत गर्दछ ।
धार्मिक र सामाजिक महत्व
गाईलाई सनातन धर्ममा माता समान मानिन्छ । गाई पूजाको अवसरमा गौशालामा विशेष पूजा, आरती तथा प्रसाद वितरण गरिन्छ । यस अवसरमा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहने गर्दछ । गौशालाले धार्मिक आस्थासंगै समाजमा करुणा, सेवा र सहअस्तित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
कृषक र स्थानीय समुदायलाई फाइदा
गौशालाबाट उत्पादन हुने गोबर, गहुँत र जैविक मल स्थानीय कृषकहरूका लागि उपयोगी बनेको छ । यसले जैविक खेतीलाई प्रोत्साहन गर्दै रासायनिक मलको प्रयोग घटाउन सहयोग पु¥याएको छ । साथै, बेसहारा र अलपत्र परेका गाईहरूको संरक्षण गरेर सडक दुर्घटना न्युनिकरणमा समेत योगदान पुगेको छ ।
गौसेवामा सहभागिता गर्न आग्रह
गौशाला व्यवस्थापन समितिले गाई संरक्षणलाई दीर्घकालीन बनाउन सबैलाई सहयोग र सहभागिताको आग्रह गरेको छ । दान, श्रमदान, घाँस–चोकर सहयोग तथा प्रत्यक्ष अवलोकनका लागि नजिकको गौशाला भ्रमण गर्न सबैलाई अनुरोध गरिएको छ ।








