सोमबार १४ बैशाख २०८३

२०८२ माघ १, अर्घाखाँची –

अर्घाखाँची मल्टिमिडिया प्रा.लि.द्वारा सञ्चालित सन्धिखर्क एफएम ८९.८ मेगाहर्जले आज आफ्नो स्थापना भएको आठ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । सन्धिखर्क नगरपालिका–२, भक्तिटोलस्थित प्रसिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिरको काखबाट प्रसारण हुँदै आएको यस रेडियोको २०७४ साल माघ १ गते भव्य कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको थियो ।

बिहान ५ बजेदेखि राति ११ बजेसम्म दैनिक १८ घण्टा सञ्चालनमा रहेको सन्धिखर्क एफएमले सूचना, ज्ञान, मनोरञ्जन तथा विविध चेतनामूलक कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । रेडियोलाई एफएम ब्यान्डको ८९.८ मेगाहर्जसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स, अर्घाखाँची टुडे डट कम तथा सन्धिखर्क एफएमको आधिकारिक फेसबुक पेजमार्फत पनि एकैसाथ सुन्न सकिने स्टेशन म्यानेजर श्याम घिमिरेले जानकारी दिनुभयो ।

नवौँ वार्षिकोत्सवको अवसरमा रेडियोले सम्पूर्ण श्रोता, विज्ञापनदाता, पाठक, कर्मचारी, पत्रकार, सहयोगी संघ–संस्था तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । विभिन्न चुनौतीका बीच पनि सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार प्रसारण तथा सन्तुलित विचार प्रवाहप्रति प्रतिबद्ध रहने रेडियोले जनाएको छ । श्रोताको माया, ममता, स्नेह र सहयोगले आगामी दिनहरूमा रेडियोलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजान थप प्रेरणा मिल्ने विश्वास रेडियोले व्यक्त गरेको छ ।

                                                                                शुभकामना सन्देश

अर्घाखाँची मल्टिमिडिया प्रा.लि.द्वारा सञ्चालित सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज आज आफ्नो स्थापना भएको आठ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गर्न सफल भएको यस ऐतिहासिक अवसरमा हामी सम्पूर्ण श्रोता, विज्ञापनदाता, पाठक, कर्मचारी, पत्रकार, सहयोगी संघ–संस्था तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।

स्थापनाकालदेखि नै सत्य, तथ्य, निष्पक्षता र विश्वसनीयतालाई आत्मसात् गर्दै सूचना, शिक्षा, मनोरञ्जन तथा जनचेतनामूलक कार्यक्रमहरू निरन्तर प्रसारण गर्दे आएको सन्धिखर्क एफएम श्रोताको माया, स्नेह र विश्वासकै कारण आज यो स्थानसम्म आइपुगेको हो ।

विविध चुनौतीका बाबजुद पनि जिम्मेवार पत्रकारिता, सन्तुलित विचार प्रवाह तथा स्थानीय सरोकारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने हाम्रो प्रतिबद्धता यथावत् रहनेछ । आगामी दिनहरूमा अझ गुणस्तरीय कार्यक्रम, प्रभावकारी समाचार तथा प्रविधिमैत्री प्रसारणमार्फत श्रोतामाझ अझ नजिक रहने संकल्प व्यक्त गर्दछौँ । नवौँ वर्षमा प्रवेशको यस सुखद अवसरमा पुनः एकपटक सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक धन्यवादसहित निरन्तर साथ, सहयोग र सुझावको अपेक्षा गर्दछौँ ।

श्याम घिमिरे स्टेशनम्यानेजर
तथा
सन्धिखर्क एफएम परिवार


Last Updated on: January 15th, 2026 at 7:04 am
५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया