श्याम घिमिरे
माघ १२, सन्धिखर्क —
अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिएको सातौँ अर्घाखाँची महोत्सवको आइतवार औपचारिक रूपमा समापन गरिएको छ । सन्धिखर्क नगरपालिका–१ स्थित कुडुलेफाँटमा आयोजना गरिएको महोत्सव विशेष कार्यक्रमका बीच समापन गरिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन, व्यापार–व्यवसायको विस्तार तथा कला–संस्कृतिको संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव गत पुस २७ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएको थियो ।

समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले यस्ता महोत्सवहरूले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महोत्सवले जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश सदस्य सुकदेव बेल्वासे, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाललगायतका वक्ताहरूले महोत्सव सफलताका विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालको स्वागत मन्तव्य र सचिव प्रेम थापा को सञ्चालनमा सम्पन्न भएको हो ।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति, विभिन्न व्यापारिक स्टलहरू, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनीले दर्शक तथा उपभोक्ताको उल्लेखनीय सहभागिता पाएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा ७० हजारभन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै झन्डै ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।








