श्याम घिमिरे माघ १७ सन्धिखर्क – साथी साकोसको आयोजनामा, जिल्ला सहकारी संघ लि।, अर्घाखाँचीको समन्वय तथा कलश स्टक मार्केट ९ब्रोकर नं। ७४० को प्राविधिक सहयोगमा वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्कमा रहेको होटल साथी प्रालीमा शनिबार सम्पन्न कार्यक्रममा सहकारीका सदस्यहरू, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा शेयर बजार, लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा वित्तीय सचेतनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमले सहभागीहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्न तथा सुरक्षित लगानीप्रति सचेत गराउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अहिलेको समयमा दैनिक हजारौँ रुपैयाँ कमाउन कतै टाढा जान आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केबल शेयर कारोबार, विशेषगरी आइपिओ मा जोडिए पुग्छ । टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमा अनावश्यक समय खेर फाल्नुभन्दा शेयर कारोबारमा जोडिँदा दैनिक जीवन निर्वाह गर्न सहज हुन्छ ।” नगर प्रमुख श्रेष्ठले वित्तीय साक्षरताको अभावकै कारण धेरै नागरिक अवसरबाट वञ्चित भइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई समयको सदुपयोग गर्दै सुरक्षित र सचेत लगानीतर्फ आकर्षित हुन आग्रहसमेत गर्नुभयो ।

कार्यक्रम साथि सहकारीका अध्यक्ष रुद्र प्रसाद श्रेष्ठको अध्यक्षता उपाध्यक्ष डिलाराम भुसालको स्वागत मन्तव्य र सचिव विष्णु बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो । सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ लि। अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै शेयर बजारसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रममा कलश स्टक मार्केटका प्रतिनिधि कमल पौडेल र चिरञ्जीवि पौडेललगायतले सहभागीहरूलाई शेयर बजारसम्बन्धी विविध विषयमा सहजीकरण गर्नुभएको थियो ।








