श्याम घिमिरे माघ २० अर्घाखाँची –
न्यूनतम सेवा मापदण्ड (MSS ) कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पताल अनुगमन, मूल्यांकन तथा समीक्षा कार्यक्रम मङ्गलबार अर्घाखाँची अस्पताल सन्धिखर्कमा सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा, अर्घाखाँची अस्पताल प्रमुख जगन्नाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशस्तरीय विज्ञ टोलीले माघ १९ र २० गते अस्पतालको विस्तृत मूल्यांकन गरेको थियो । मूल्यांकनको नतिजा सार्वजनिक गर्दै टोलीले अर्घाखाँची अस्पतालले ःक्क् सूचकाङ्कमा ९४ अङ्क प्राप्त गरी प्रदेशभर तेस्रो स्थान हासिल गर्न सफल भएको घोषणा गरेको छ ।
कार्यक्रममा अस्पताल प्रमुख तिवारीले आर्थिक वर्ष ०८२/०८३ मा अस्पतालले सञ्चालन गरेका कार्यक्रमहरू तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो । मूल्यांकन टोलीका प्रमुख तथा बर्दिया अस्पतालका प्रमुख डा. सुवास पाण्डेयले अस्पतालका सबल पक्ष र सुधार गर्नुपर्ने क्षेत्रहरूको समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले ब्लड बैंक स्थापना, बालमैत्री सेवा विस्तार, सुविधा सम्पन्न भवन निर्माण र दरबन्दीअनुसार विशेषज्ञ सेवा आवश्यक रहेको औँल्याउनुभयो ।

कम जनशक्ति र विभिन्न चुनौतीका बाबजुद पनि पहाडी क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने सामूहिक प्रयासको उच्च प्रशंसा गर्दै उहाँले अस्पताल परिवार र सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले अस्पताल विकासका लागि निरन्तर सम्बन्धित निकायमा आवाज उठाउँदै आएको बताउनुभयो । सुविधा सम्पन्न भवन र विशेषज्ञ सेवाका विषयमा मुख्यमन्त्रीसँग पटक–पटक छलफल भएको उल्लेख गर्दै उहाँले स्वास्थ्यकर्मीलाई मुस्कानसहित सेवा दिन आग्रह गर्नुभयो ।
हाल अस्पतालमा आवश्यक ४२ जना नर्सिङ स्टाफमध्ये केवल १६ जनाले सेवा दिइरहेको अवस्थामा पनि समर्पित भावनाका साथ काम गरिरहेको भन्दै उहाँले नर्सिङ स्टाफलाई विशेष धन्यवाद दिनुभयो । अस्पताल व्यवस्थापन अधिकृत शिव बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, अर्घाखाँची अस्पतालका एमडी. डा. खगेन्द्र आचार्य, नगरपालिका स्वास्थ्य प्रमुख पूर्ण पराजुली, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सनपा वडा नं. १ का वडाअध्यक्ष माधव श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका डा. अच्युत शर्मा, आयुर्वेद कार्यालय प्रमुख कमलप्रसाद आचार्य,एसएस अधिकृत सन्देश पौडेल, नेपाल नियमित रक्तदाता संघका अध्यक्ष अशोक चौहान, अस्पताल व्यवस्थापन सुदृढीकरण समिति सदस्य अनिता भुसाल,हिम जिसि लेकालीलगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
यसै अवसरमा अस्पताले नयाँ सुविधा सम्पन्न भवनबाट प्रयोगशाला (ल्याब) सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले रिबन काटेर गर्नुभएको हो । यसअघि साँघुरो स्थानबाट कष्टकर रूपमा सञ्चालन हुँदै आएको ल्याब सेवा अब अत्याधुनिक परीक्षण मेसिन जडान गरी नयाँ भवनबाट सञ्चालन गरिने ल्याब प्रमुख राजकुमार बन्जाडेले जानकारी दिनुभयो ।









