आइतबार १७ जेठ २०८३

श्याम घिमिरे अर्घाखाँची, माघ २१ — विद्यालय केन्द्रित नियमित एच.पि.भी. (HPV ) खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला खोप समन्वय समिति अर्घाखाँची तथा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा बुधबार सम्पन्न उक्त कार्यक्रममा एच.पि.भी. खोपको महत्व, लक्षित समूह, खोप सञ्चालन प्रक्रिया तथा विद्यालयस्तरमा देखिने चुनौती र समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भी. खोप अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्नुभयो । उहाँले लक्षित उमेर समूहका किशोरीहरूलाई नियमित रूपमा खोप सुनिश्चित गर्न विद्यालय, अभिभावक तथा समुदायको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । कोइरालाले एक किशोरीलाई एक मात्रा खोप लगाउँदा राज्यको ६ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च हुने उल्लेख गर्दै, राज्यले गरेको लगानीको सदुपयोग गर्न सबै लक्षित किशोरीलाई खोप लगाउन सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षता तथा स्वास्थ्य कार्यालयका बसन्त पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, अर्घाखाँची अस्पताल प्रमुख डा.जगन्नाथ तिवारी, खोप समन्वय समितिका सदस्य,सञ्चारकर्मीलगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलका अनुसार एच.पि.भी. खोप अभियान यहि माघ २७ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन गरिनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा १० वर्ष उमेर समूहका किशोरीहरू लक्षित कार्यक्रम अन्तर्गत ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूको नामावली संकलन गरिसकिएको पनि जानकारी दिनुभयो ।

जिल्लाभर १४५ वटा विद्यालयलाई खोप केन्द्र तोकिएको र कुल १ हजार ५३० जना किशोरीले खोप लगाउने लक्ष्य राखिएको पोख्रेलले बताउनुभयो । लक्षित १ हजार ४५२ जना किशोरी भए पनि थप सहभागीका कारण १ हजार ५३० जनाले खोप लगाउने अनुमान गरिएको छ । अघिल्लो वर्ष जिल्लामा ७ हजार ६४१ जना किशोरीलाई एच.पि.भी. खोप लगाइएको थियो ।

अर्घाखाँची अस्पतालको तालिम हलमा सम्पन्न कार्यक्रममा खोप कार्यक्रमलाई सफल बनाउन सबै पक्षको समन्वय र सक्रिय भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो । कार्यक्रमको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।


Last Updated on: February 4th, 2026 at 7:39 pm
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया