शुक्रबार २९ जेठ २०८३

श्याम घिमिरे अर्घाखाँची, माघ २३— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सरकारले गिरफ्तार गरी थुनामा राखेको भन्दै बिना शर्त अभिलम्ब रिहाइको मागसहित सुक्रवार ज्ञापनपत्र बुझाइएको हो ।

पार्टीले बुझाएको ज्ञापनपत्रमा खड्काको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउने क्रममा जिल्लाका समसामयिक महत्वपूर्ण विषयहरू, राजनीतिक अवस्था, तथा आगामी निर्वाचन बहिष्कारसम्बन्धी कार्यक्रम जानकारीलगायत विषयमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसँग छलफल भएको जनाइएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य कृष्ण केसी, जिल्ला इन्चार्ज नरेन्द्रबहादुर थापा, केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपाली, क्रान्तिकारी ट्रेड युनियन महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष हिम्मत बिकलगायतको सहभागिता रहेको थियो । पार्टीले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले जानकारी दिनुभयो ।


Last Updated on: February 6th, 2026 at 9:16 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया