श्याम घिमिरे माघ २८ सन्धिखर्क –
सन्धिखर्क नगरपालिका वडा नं. १, रतहलेमा गएराती छाडा कुकुरको आक्रमणबाट पाँच वटा पाठापाठी मरेका छन् । मालारानी गाउँपालिका–९ गोखुङ्गा निवासी हाल रोजगारीसँगै व्यवसायको सिलसिलामा सन्धिखर्क १ रतहलेमा बस्दै आउनुभएका मेहनती किसान मुमाराम घर्ती (मुमबहादुर) को बाख्राको खोर तोडी कुकुरले पाठापाठी मारेको हो । पीडित किसान घर्तीका अनुसार अन्दाजी १० देखि १२ केजी तौलका पाँच वटा पाठापाठी मर्दा करिब ४५ देखि ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
छाडा कुकुरको बढ्दो आतंकका कारण किसान मात्र नभई सर्वसाधारणसमेत त्रसित बनेका छन् । स्थानीयवासीहरूले यस्ता कुकुरहरूको समयमै उचित व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् । साथै, सबैलाई सतर्क रहन र विशेष गरी साना नानीबाबुहरूलाई छाडा कुकुरको सम्भावित आक्रमणबाट जोगाउन आग्रह पनि गरिएको छ ।

यसअघि पनि जिल्लाका विभिन्न स्थानमा छाडा कुकुरको आक्रमणबाट केही पाठापाठी मरेका घटनाहरू सार्वजनिक भएका थिए । बारम्बार यस्ता घटना दोहोरिँदा किसानहरू थप चिन्तित बनेका छन् भने छाडा कुकुर व्यवस्थापनप्रति सम्बन्धित निकायको प्रभावकारी पहल आवश्यक देखिएको स्थानीयको भनाइ छ ।








