श्याम घिमिरे,
फागुन २८ अर्घाखाँची-
नेकपा एमाले अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई साथ र समर्थन गर्ने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ । बिहिवार बिहान सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुसालले निर्वाचनका क्रममा आफू र सूर्य चिन्हमा मतदान गर्ने सबै मतदाताहरूलाई विशेष धन्यवाद दिँदै जनताले देखाएको विश्वास, माया र साथ आफ्नो लागि ठूलो प्रेरणा भएको बताउनुभयो ।
एमाले अर्घाखाँची अध्यक्ष समेत रहनुभएका भुसालले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफू सधैं जनताको साथमै रहने प्रतिबद्धता व्यक्त गर्दै मतदाताहरूलाई निराश नहुन आग्रह गर्नुभयो । जनताको विश्वासलाई सधैं सम्मान गर्दै जिल्लाको विकास, समृद्धि र जनहितका कार्यमा निरन्तर साथ दिने भुसालले उल्लेख गर्नुभयो । भुसालले अर्घाखाँचीको विकास निर्माणका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने दृढता समेत व्यक्त गर्नुभएको छ ।
साथै, निर्वाचनको दौरान विभिन्न सञ्चारमाध्यममार्फत समाचार, सूचना र गतिविधिहरू प्रसारण–प्रकाशन गरेर सहयोग पु¥याउने सम्पूर्ण मिडिया हाउस तथा सञ्चारकर्मीहरूलाई पनि उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । भुसालले जनताको माया, विश्वास र समर्थनलाई सधैं सम्मान गर्दै आगामी दिनहरूमा पनि जनतासँगै रहेर जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।

यसैबीच, फागुन २१ मा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट रास्वपाको तर्फवाट विजयी हरिप्रसाद भुसाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भुसालले “समृद्ध अर्घाखाँची, खुसी अर्घाखाँचीवासी” बनाउने अभियानमा आफूले सकारात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल ३५ हजार २३ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पीताम्बर भुसालले २२ हजार ६४९ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेपाली काँग्रेस विष्णु प्रसाद खनाल मुस्कानले १८ हजार ९८३ मत र नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८४७ मत प्राप्त गर्नुभएको थियो ।








