Trend

श्याम घिमिरे चैत्र २ –

देशमा संकट आइपर्दा कसको असली अनुहार कस्तो हुन्छ भन्ने कुरा हामीले बारम्बार देखिरहेका छौँ । विडम्बना के भने, यस्तो बेला देशलाई जोगाउने भन्दा पनि अवसर खोज्नेहरू सबैभन्दा पहिले सक्रिय हुन्छन् । कालोबजारी, बिचौलिया, माफिया र तस्करहरूको हालीमुहाली बढ्दै जान्छ । जसले जनताको पीडालाई पीडा होइन, व्यापारको अवसर बनाउँछन् ।

हामी सबैले आफ्नै आँखाले देखिरहेका छौँ—कसरी केही व्यक्तिहरू छोटो समयमै रोडपतिबाट करोडपति बन्छन् । नाकाबन्दीको समय होस्, कोरोना महामारीको कठिन घडी होस्, वा अहिले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता—संकट जति गहिरो हुन्छ, यस्ता धन्दा गर्नेहरूको भाग्य उति नै चम्किन्छ । जनताको दुःख उनीहरूका लागि सुनको खानी जस्तै बन्छ ।

सायद अन्य देशहरूमा संकट आउँदा राष्ट्रलाई कसरी बचाउने भन्ने अभियान सुरु हुन्छ होला । तर हाम्रो देशमा भने संकट आइपुग्दा कालोबजारी गर्ने, बिचौलिया र तस्करहरूको “सुनौलो मौसम” सुरु हुन्छ । बाँकी ‘यसो ग¥यौ, उस ग¥या ’ भन्ने ठूलाठूला भाषणहरू धेरैजसो देखाउने नाटकजस्तै लाग्छन् ।

उदाहरण त अहिलेको बजारमै देख्न सकिन्छ । पेट्रोलियम पदार्थको अभाव देखियो, अनुगमनको चर्चा चल्यो । तर मूल्य बढ्ने संकेत मात्र आयो भने के हुन्छ ? गोदाममा लुकाइएका स्टकहरू आफैँ बजारमा देखा पर्न थाल्छन् । अनि न त अनुगमनको डर रहन्छ, न त नाटक गर्नै पर्छ—सबै कुरा आफैँ प्रष्ट भइहाल्छ ।

कोरोना कहरको समयमा पनि यस्तै दृश्य देखियो । कतिपयले त्यही संकटको मौकामा घरघडेरी जोडेको कथा अहिले पनि बजारमा सुनिन्छ । जनताको पीडाले कसैको जीवन झन् कठिन बनायो, तर कसैको भाग्य भने रातारात चम्कियो ।

अब अहिले मध्यपूर्वमा उत्पन्न संकटलाई लिएर फेरि विश्व बजारमा अस्थिरता देखिँदैछ । डर लाग्छ—कतै फेरि त्यही पुरानो खेल दोहोरिने त होइन ? कतै फेरि कसैले संकटलाई बहाना बनाएर नसोचेको पैसा कमाउने, घरघडेरी थप्ने खेल त सुरु हुने होइन ? हामीले अहिले त्यही देखिरहेका छौँ, त्यही महसुस गरिरहेका छौँ । बाँकी कुरा समयले आफैँ बताउनेछ ।

त्यसैले साँचो अर्थमा महान् त्यो हो, जसले देश संकटमा पर्दा आफ्नो स्वार्थ होइन, राष्ट्रलाई सम्झिन्छ । जसले तन, मन र धनले देशको साथ दिन्छ । सुखको समयमा मात्र देशभक्ति देखाउनु सजिलो हुन्छ, तर दुःखको समयमा राष्ट्रको साथ दिन सक्नेहरू नै वास्तवमा सम्मानका हकदार हुन्छन् । सुखमा मात्र होइन, दुःखमा पनि राष्ट्रसँग उभिन सक्नेहरूकै जयजयकार हुन्छ—बाँकी त समयले सबैको असली अनुहार देखाइदिन्छ ।
जय होस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे


TOP