
के पी भुसाल ‘अजस’
दिएँ साथ मैले सती झैं झुकेर,
दियौ चोट पापी हियोमा कुचेर ।
सुनौलो जवानी गुमाएर मैले,
निभेको दियो झैँ भएकी छु ऐले ।।
हुँदो रैछ अन्धो मया प्रेम भार,
भएँ भक्त तिम्रै गरें मै हतार ।
थिए बन्ध बाचा धुलोमा मिलाइ,
बनायौ तिमीले विरागी मलाई ।।
थिए आस धेरै कहाँ मै बिसाउँ ?
अकेली जुनी यो कसोरी रमाउँ ?
भरोसा दिने छन् अनेकौं तयार,
कुकर्मी र स्वार्थी विलासी गमार ।।
म नारी अभागी छ आत्मा दयालु,
दुखी कर्म मेरो न भेटेँ कृपालु ।
भरोसा र आशा भए ती कहानी,
उडेको भुवा झैं भयो जिन्दगानी ।।
अझै हेर तिम्रै लुकेको छ माया,
गडेको छ दिल्मै झझल्को र छायाँ ।
अहो हेर मेरो सधैँ शान्त बानी,
छ यस्तै चलेको दुखी जिन्दगानी ।।
दिएनौ मलाई सुखका तरेली,
सधैँ छन् दुखीका रुजेका परेली ।
बुझेनौ मलाई हियोमा सजाइ,
र छाड्यौ मलाई विरागी बनाइ ।।
सघायौ तिमीले खुसीमा मलाई,
भएँ मै सुसारे गरेथ्यौं रजाइँ ।
थियो शान हाम्रो कसोरी म भन्नु,
भयौ है बिरानो कहाँ शान्ति मिल्नु ।।
थिएँ है सहेली म तिम्रै कुनै दिन्,
अनायास आए सुखीका दुखी दिन् ।
दिने छैन सास्ती म प्यारा कुनै दिन्,
हुने छैन तिम्रो कहिल्यै रुने दिन् ।।
प्रकाशन मिति : २०८३ जेठ १२