
श्याम घिमिरे,
जेठ १९ अर्घाखाँची –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा र आन्तरिक चलखेल सतहमा देखिन थालेको छ । आगामी जेठ २४ गते सन्धिखर्कमा हुने जिल्ला अधिवेशनलाई लक्षित गर्दै केही नेतृत्व आकांक्षीहरूले विभिन्न माध्यमबाट आफ्नो पक्षमा माहोल बनाउन सक्रियता बढाएको आरोप लागिरहेको छ ।
यसैबीच, जिल्ला सभापति पदका एक आकांक्षी मानिएका व्यक्तिले सामाजिक सञ्जालमार्फत रास्वपा अर्घाखाँचीको ‘वाचा–पत्र’ आफूले एक्लै तयार पारेको र त्यसको मुख्य परिकल्पनाकार स्वयं रहेको दाबी गरेपछि पार्टीभित्र विवाद चुलिएको छ । उक्त अभिव्यक्तिले कार्यकर्तामाझ भ्रम सिर्जना गरेको र सामूहिक योगदानलाई ओझेलमा पार्ने प्रयास भएको भन्दै पार्टीभित्र व्यापक चर्चा सुरु भएको छ ।
अधिवेशनको पूर्वसन्ध्यामा यस्ता गतिविधिले संगठनभित्र अनावश्यक विभाजन र भ्रम फैलाउने निष्कर्षसहित रास्वपा अर्घाखाँचीले औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ । पार्टीका कार्यवाहक सभापति कमलप्रसाद मरासिनीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पार्टीका नीति, दस्तावेज, अभियान तथा उपलब्धिहरू कुनै एक व्यक्तिको नभई सामूहिक प्रयासको परिणाम भएको स्पष्ट पारिएको छ ।
विज्ञप्तिमार्फत पार्टीले व्यक्तिगत प्रचार, अतिरञ्जित दाबी तथा संगठनको सामूहिक योगदानलाई कमजोर पार्ने गतिविधिबाट टाढा रहन नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । साथै अधिवेशनलाई स्वस्थ, मर्यादित र लोकतान्त्रिक वातावरणमा सम्पन्न गर्दै पार्टी एकतालाई थप मजबुत बनाउन सबै पक्षलाई जिम्मेवार बन्न अपिल गरिएको छ ।