सोमबार २५ जेठ २०८३

अक्षर सङ्ख्या : १५
गणः र ज र ज र
सङ्केतः  कष्क ष्कष् कष्क ष्कष् कष्क
विश्रामः सातौँ अक्षरमा
समस्याः शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले

स्वर्ण हुन्न जिन्दगी प्रभावले बिगार्दछ
भित्रभित्र देहमा अनेक रोग सार्दछ
घट्छ आयु तीव्र यो अशुद्ध खानपानले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले ।। १

व्यक्तिसङ्ग व्यक्तिको चरित्र यो चिनाउँछ
गोल्फुतुल्य पेटको अनाज यो सडाउँछ
हानि गर्छ बेस्सरी अखाद्य वस्तु जाँडले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले ।। २

कोमलाङ्गभित्र यो अनेक राग राख्दछ
स्वच्छ हुन्न तत्त्व यो पवित्र प्राण हर्दछ
दिन्न लाभ रक्तमा पिएर व्यर्थ सानले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले ।। ३

मूर्ख हुन्छ व्यक्ति जो पिएर बर्बराउँछ
ज्ञान बोध चेत त्यो सधैँ सधैँ गुमाउँछ
नीच हुन्छ निम्सरो अयोग्य हुन्छ कामले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले ।। ४

मान गान सानमा सदैव ज्यान चुक्दछ
लिप्त बन्छ लालची र दम्भ गर्न जान्दछ
सत्यता छ बातमा भन्यो स्वयम् विधानले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले ।। ५

डिल्लीराज घिमिरे ( सङ्गम)
भूमिकास्थान ९ अर्घाखाँची


Last Updated on: June 7th, 2026 at 10:15 am
१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया