मंगलबार १६ आषाढ २०८३

के पी भुसाल ‘अजस’

एकली छोरी बाबाकी प्यारी झरें मै मेलामा,
आ है झरें मै मेलामा
कसोरी टेकु यी कोमल पाउ असारे हिलोमा ।
आ है असारे हिलोमा
साहुकी छोरी माइती बस्दा देखियो कजिया,
आहै देखियो कजिया,
यो दुखी कर्म हिलोले खायो रेशमी फरियाा ।।
आ है रेशमी फरिया

घैयाको धान लागेन फूल नुगेन भूईँतिर,
रोपैंको मेलो छोडेर सबै हेर्दैछन् मैतिर ।
सपना जस्तो लाग्दैछ आज माइती घरको,
छोरीको जात रहेछ बास पराइ घरको ।।

बगेको खोला रोकिन्न कतै लाग्दैन अबाट,
छोरीको जात नजान्दा कर्म भुल्भयो मबाट ।
छोरीको जन्म हारेको कर्म भाविले लेखेको,
भएन आज लेखेको नभै यो मन्ले खोजेको ।।

धारा नै छैन कुवाको पानी कसोरी म भरुँ ?
बाबाको दया आमाको माया संझेर केगरुँ ?
छोरीको कर्म छाड्दिन राजै मै साथ दिउँला,
नारीको मर्म बुझे है राजै मै लक्ष्मी बनुँल ।।

रूखमा फुल्छ सुन्गाभा फूल वासना मग्मगी,
नारीको कर्म भुल्होला भन्ने छ मला जग्जगी।
नगरी खानु ठगेर खानु पापको कुमली,
गरेर खाने सत्यमा बस्ने चाहिन्छ दामली ।।

दुखका भारी बोकनु पर्दा नभए निरास,
मनुष्य चोला सपार्न पर्छ चाहिन्छ साहस ।
श्रमको फल मिठो नै हुन्छ यसमै भला छ,
दुख र सुख भोगौंला राजै संसार खुलाछ ।।

घामले नेटो काटेर गयो अँधेरो भैसक्यो,
लौ मेला लाग दिदी र बैनी अबेर भैसक्यो ।
सुन्तला रूख फलेको हाँगा झुक्दछ भूईँ तिर,
रोपाइँ गर्ने दिदी र बैनी नहेर मै तिर ।।

आजको रोपैं असारे पन्द्र दै चिउ् रा खाउँला,
रोपाइँ भ्याइ गाउँदै गीत घर्घरै जाउँला ।
असारे हिलो धोएर जान्छ पानी छ खोलामा,
गाह्रो र पीरो नमान्नु होला दुईदिने चोलामा ।।
प्रकाशन मिति  : २०८३ असार १५


Last Updated on: June 29th, 2026 at 5:08 pm
१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया