बुधबार २७ साउन २०८३

सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । सत्तारूढ दल रास्वपा सभापति रवि लामिछानेले आज बोलाउनुभएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेका हुन् । ७ बुँदे संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ ।

बैठकले प्रदेश, जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ  भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपील गरिएको छ । सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानूनबमोजिम कारबाही, पीडितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ ।

बैठकमा कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी हुनुहुन्थ्यो । source :ujyaaloonline


Last Updated on: August 7th, 2026 at 12:24 pm
१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया