
श्याम घिमिरे साउन १३, अर्घाखाँची । गुरु पूर्णिमाको अवसरमा अर्घाखाँची आवासीय माध्यमिक विद्यालय, सन्धिखर्क–२ बेलबाटीकामा विद्यार्थीहरूले आफ्ना गुरु–गुरुआमाप्रति सम्मान व्यक्त गर्दै विशेष कार्यक्रम आयोजना गरेका छन् । विद्यालयको बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले शिक्षकहरूलाई पुष्पगुच्छा, खादा र अक्षता अर्पण गर्नुका साथै मिठाई खुवाएर सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर राउत क्षेत्रीले गुरु पूर्णिमाको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूले स्वस्फूर्त रूपमा आयोजना गरेको सम्मान कार्यक्रमले शिक्षकप्रतिको उच्च सम्मान र आदरभाव झल्काएको बताउनुभयो । गुरु पूर्णिमा महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइने पर्व हो ।
ज्ञान र संस्कारका प्रतीक गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै यो पर्व विश्वभर श्रद्धापूर्वक मनाउने गरिन्छ । कार्यक्रम बाल क्लबका अध्यक्ष प्रतीक आचार्य र सचिव समानता भट्टराईको सञ्चालनमा सम्पन्न भएको बिद्यालयका संस्थापक प्रिन्सिपल श्रीकृष्ण भुसालले जानकारी दिनभयो ।