बुधबार ३१ भाद्र २०८३

श्याम घिमिरे, भदौ ३१, अर्घाखाँची ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री एवं पूर्वप्रहरी महानिरीक्षक ध्रुव्रबहादुर प्रधानले देशमा संकट परेको अवस्थामा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । राप्रपा अर्घाखाँचीको अधिवेशनलाई बुधबार सदरमुकाम सन्धिखर्कमा सम्बोधन गर्दै प्रधानले राष्ट्रियता संरक्षणका लागि प्रत्येक नागरिक र सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताउनुभयो । उहाँले सनातन संस्कृति संरक्षणमा पनि सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रधानले मुलुकमा राजा आउने वातावरण बिस्तारै बन्दै गएको दाबी गर्दै राज्य सञ्चालनका लागि निर्वाचन जित्नु मात्र पर्याप्त नभई अनुभव पनि आवश्यक पर्ने बताउनुभयो । राप्रपाले सरकारका रचनात्मक काममा सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी महाधिवेशनपछि पार्टीले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब फर्केर बालेनको घण्टी बज्दैन, अब जाँच्ने पालो राष्ट्रवादी पार्टी राप्रपाको हो ।’

राप्रपा कार्यवाहक जिल्ला अध्यक्ष बसन्त मल्लको अध्यक्षता, सचिव महेन्द्रकुमार श्रेष्ठको सञ्चालन तथा देविराम गैरेको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य ध्रुव्र रायमाझी, अर्घाखाँचीका पूर्वअध्यक्ष देविबहादुर खड्का, नेता नारायणप्रसाद खनाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रुद्रमणि भुसाल, राप्रपा महिला नेतृ सृजना क्षेत्रीलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैबीच, अधिवेशनले नारायणप्रसाद खनाललाई राप्रपा अर्घाखाँचीको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । खनालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको राप्रपा प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको नाम भने पछि सार्वजनिक गरिनेछ ।


Last Updated on: September 16th, 2026 at 7:15 pm
९ पटक हेरिएको

तपाईको प्रतिक्रिया