सोमबार ०५ आश्विन २०८३

श्याम घिमिरे, असोज ५ अर्घाखाँची ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–९ स्थित श्री सूर्य माध्यमिक विद्यालयमा आयोजना गर्ने भनिएको धनधान्याञ्चल ज्ञान महायज्ञ तत्कालका लागि स्थगित गरिएको छ । विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका लागि ‘स्मार्ट विद्यालय’ स्थापना गर्ने उद्देश्यले आगामी कात्तिक १२ देखि १९ गतेसम्म धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गर्ने निर्णय यसअघि गरिएको थियो ।

तर पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको, नागरिकको ज्यान गएको, धेरै घरपरिवार विस्थापित तथा बेपत्ता भएको र खोज तथा उद्धारको कार्य भइरहेको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै महायज्ञ स्थगित गर्ने निर्णय गरिएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष पदम क्षेत्रीले जानकारी दिनुभयो ।

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनासकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै अर्घाखाँची जिल्लाका पनि केही व्यक्तिहरुको निधन हुनुका साथै केहि व्यक्तिहरु बेपत्ता रहेका कारण यस्तो दुखद अवस्थामा धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको ९ नम्वर वडाध्यक्ष महेन्द्रबाबु खनालले बताउनु भयो ।

सनिवार विद्यालयमा बसेको महायज्ञ मूल समारोह समितिको बैठकले तत्कालकालागि धनधान्याञ्चल ज्ञान महायज्ञ स्थगित गर्ने सर्वसम्मत निर्णय गरेको बिद्यालयका प्रअ डुकप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विद्यालयले यस दुःखद तथा संवेदनशील घडीमा बाढीपहिरोमा परी अमूल्य जीवन गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, प्राकृतिक विपद्मापरी घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवार तथा प्रभावित समुदायप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।

यस विषम परिस्थितिमा पीडितको पीडालाई आफ्नो पीडा सम्झँदै खोज तथा उद्धार, राहत तथा मानवीय सहयोगका कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै, दुःख र संकटमा एक–अर्काको साथमा उभिनु नै साँचो मानवीय धर्म भएको विद्यालयले जनाएको छ ।

 

 


Last Updated on: September 21st, 2026 at 9:00 am
१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया