बुधबार १६ बैशाख २०८३

भदौ ७-  जितपुर सिमरा उपमहानगरपालिका–२२​ चुरियामाई नजिक भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन् ।काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनामा महोत्तरी लोहारपटीका ४१ वर्षीय विजयलाल पण्डित,  भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षकी मीरादेवीको मृत्यु भएको हो।

यस्तै परिचय नखुलेकी ६५ वर्षीय एक महिला, अन्दाजी ६५–७० वर्षका एक पुरुष, ५५–६० वर्ष उमेरकी एक महिला र परिचय नखुलेकी अर्की ५५–६० वर्षकी अर्की महिलाको मृत्यु भएको बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। भारत राजस्थानका ९ वर्षीया कृतिका चतुर्वेदी, ३५ वर्षीय अनिल कुमार, ४८ वर्षीय घनश्याम चतुर्वेदी, ४८ वर्षीय श्याम लाल माली, ५० वर्षीया तारावती चतुर्वेदी र ५३ वर्षीया माया देवी घाइते भएका छन्।

यस्तै राजस्थानकै १६ वर्षीया गर्बिदा चतुर्वेदी, ४७ वर्षीय हरवारी माली, ५४ वर्षीय रामकुमार चतुर्वेदी, ६० वर्षीया इन्दु धाकद, ६३ वर्षीय धरम सिंह, ७० वर्षीया चौथीदेवी, ७२ वर्षीय सुरेशचन्द्र चक्रवर्ती र ७३ वर्षीय रामप्रसाद घाइते भएका छन्। महोत्तरी लोहारपति–५ का २६ वर्षीय जसबेन्दर पासवान, महोत्तरीकै जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखिया र धनुषा मौवा गाउँपालिका–१८ का ४१ वर्षीय घुरन मण्डल पनि घाइते भएका छन्।

मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। source:thahakhabar


Last Updated on: August 24th, 2024 at 4:51 am
३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया