मंगलबार १२ जेठ २०८३

के पी भुसाल ‘अजस’

सन्सार बुझ्दा मन भित्र छुन्छ,
विरक्ति देख्दा मन खिन्न हुन्छ,
भन्दैन कोही चित्कार कता छ,
झुम्छन् उसैमा रसिलो जता छ,

मान्छे सबैको, तन अङ्ग मिल्छ,
जनम् र मायाँ पनि एक हुन्छ,
सुखी र दुखी सब भाइभाइ,
हुदैन कोही किन हाइ हाइ,

मान्छे अनेकौं मनका विचित्र ,
बुझिन्छ कसैमा नखरा चरित्र,
बाहिर देख्दा सुख शान्ति दिन्छ,
दिलाइ ढाडस् मुटु भित्र छिन्छ,

आत्मा परात्मा सब एक भन्दै,
सपोट लिन्छन् झुट मात्र बोल्दै,
पट्याइ आफ्नो सबथोक काम,
भुल्छन् अधर्मी गुन भार जान,

मनुष्य टेक्छन् दुख साथ धर्ती,
नल्याइ केही नखरा प्रबृत्ति,
मिल्छन् सबैथोक समाज भित्र,
सिक्छन् कसैले जनघात मात्र,

प्राणी अनेकौं धरती छ साझा,
मनुष्य चोला सबमा छ राजा,
पाएर यस्तो अनमोल देह,
संझन्न कोही मनुकै विवेक,

जादैन केही सङमा सुटुक्क,
कुचाल गर्ने किन हो खुसुक्क,
इर्ष्या र तृष्णा मनका धपाइ,
खाएर बाचौं सत कै कमाइ,

विगार सोंच्दा मनखिन्न हुन्छ,
उद्धार गर्दा तन फूर्ति बढ्छ,
विकार सारा मनका हटाइ,
मिलौं र बाचौं सब हाइहाइ ।।

प्रकाशन मिति : २०८० भदौ १२


Last Updated on: August 24th, 2024 at 4:32 am
२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया