बुधबार ०६ साउन २०८३

के पी भुसाल ’अजस’
के हो त्यो छ कता सधै छ पिरलो,प्राणी सबैमा अनि,
वर्दान् हो प्रभुको अदृश्य ममता देखिन्न केही पनि ।
आत्मा भित्र छ भावना अटल यो, भाग्दैन भाग्दैन खै,
माया मोह अभावमा जगत यो, चल्दैन चल्दैन है ।।

जन्मेका नवजातले समयमै, माया नमिल्दा घरी,
पाउन्नन् बबुरा कतै जिउनता,औकात् दिदैनन् हरि।
यस्तो यो अनमोल शाश्वत महत्,चल्दै गरेको अति,
माया हो प्रभुको अनन्त चरमा,पाइन्छ स्वाधिन् गति ।।

चौपाया पशु या अनेक थरका प्राणीहरू छन् जति,
बस्छन् झुण्ड तथापि आजित नभै नाना थरीका कति ।
यस्तै हालतमा रहेर जननी औलाद आफ्ना अनि,
भुल्दैनन् नवजातको टहलता,कस्तै विपत्मा पनि ।।

पन्छीले कसरी चुमेर बचरा, पाल्छन् सुरक्षा गरी,
भोग्छन् जोखिममा परेर कहिले आपत् अनेकौं थरी ।
मायाजाल रहेछ साधन खुबै,हाँसेर हुर्काउने,
माया कै भरमा रहेछ सहजै यो सृष्टि मौलाउने ।।

मान्छेका मनमा खुसी र ममता,चाहिन्छ दैवीक् गुण,
मायाको भ्रमजाल नै अति भए,फैलन्छ सारै घुन ।
मायाको पनिता सिमा र मनितो,संझेर आत्मा हरि,
होला शुध्द समाज बिचमा,देखिन्न औंसा झरी ।।

धर्तीका चरमा रहेछ मनुको,सारै जुनी सुन्दर,
यस्तो दुर्लभ देहता सहजमा,मिल्ने कहाँ हुन्छर ?
मान्छे भित्र छ चेतना अधिक जो यस्तो अरू हुन्छर ?
तृष्णा मात्र लिएर जीवन सुखी बन्ने कहीं हुन्छर? ।।

माया स्वार्थ नभै उदार मनको,होला सधै उत्तम,
माया नामलिदै कतै दुखदिए,होला अधर्मी जन ।
माया खर्च हुदा सकिन्न तर यो बढ्ला अझ गौरव,
माया ख्याल गरे यथोचित भए,बग्ला सधै सौरभ ।।

प्रकाशन मिति :२०८१ बैशाख २२


Last Updated on: May 4th, 2024 at 2:49 am
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया