शनिबार १३ आषाढ २०८३

   के पी भुसाल ‘अजस’

तिहार लाग्दा बहदा तरङ्ग,
देखिन्छ सारा जगतै उमङ्ग ।
हुदैन कोही खुसले उदाङ्ग,
हुन्छन् कसैले रिनले झसङ्ग ।।

दीपावलीको,छ खुबै चटारो,
सबै जनामा छ खुसी हतारो ।
देखिन्न कोही दुखको दशामा,
झुम्छन् कसैले अतिनै नसामा ।।

गरिन्छ पूजा पशुको र पन्छी,
देवी र देव् ता पनि साध्य संझी ।
पुजिन्छ सारै धनवान देवी,
गरिन्छ आह्वान् खुससाथ संझी ।।

बोलाइ चेली अनि बन्धुलाई,
दिन्छन् अनेकौ चिज खानलाई ।
दिदी र बैनी अनि दाजुभाइ,
दिन्छन् बढावा सदभावलाई ।।

थरीथरीका रङले सजाइ,
टीका र माला खुसले लगाइ ।
द्यौंसी र भैलो स्वरले मिलाइ,
नाँच्छन् अनेकौ रसले रमाइ ।।

बताइ पीडा दुखका घडीका,
गाइन्छ द्यौसी अति नै कडीका ।
सुन्दा कसैको मन खिन्न हुन्छ,
बेथा बुझेमा मन भित्र रुन्छ ।।

हाँसो र ठट्टा पनि हुन्छ द्यौसी
परम्परा हो इतिहास द्यौसी ।
मानौं खुसी भै सबले तिहार,
पाइन्छ यस्मै खुसको विहार ।।

प्रकाशन मिति :   २०८१ कात्तिक १८

 


Last Updated on: November 3rd, 2024 at 1:28 pm
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया