सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
जेठ २८ अर्घाखाँची —

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वैदेशिक रोजगारीमा हुने ठगी, शोषण तथा अन्य जोखिमबाट बच्न पूर्वतयारी र जानकारीको आवश्यकता औंल्याउँदै सञ्चारकर्मीहरूको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लाका विभिन्न सञ्चारमाध्यमहरुमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा सामी कार्यक्रमका जिल्ला संयोजक बसन्त श्रेष्ठले सुरक्षित आप्रवासनका मुख्य पक्षहरूबारे जानकारी गराउनुको साथै वैदेशिक रोजगारमा जाने प्रक्रियामा देखिने जोखिम, त्यस्ता जोखिमबाट बच्ने तरिका तथा सूचना पहुँचको भूमिका लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा वैदेशिक रोजगारमा जानुअघि आवश्यक तयारी, सरकारी नीतिनियम, जोखिम न्यूनिकरणका उपाय, आप्रवासी कामदारका अधिकार तथा सुरक्षित आप्रवासनका पक्षमा सञ्चार माध्यमले खेल्न सक्ने भूमिकाबारे छलफल समेत गरिएको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशिने व्यक्तिहरूलाई आवश्यक सूचना र ज्ञानको पहुँच दिलाउन सञ्चारकर्मीहरूसँग सहकार्य विस्तार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । सुरक्षित आप्रवासनका पक्षमा सञ्चारकर्मीहरूबाट जनचेतना अभिवृद्धिमा सहकार्यको अपेक्षा समेत गरिएको श्रेष्ठको भनाइ रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।


Last Updated on: June 11th, 2025 at 9:11 pm
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया