श्याम घिमिरे २०८२ माघ १५, अर्घाखाँची –
प्रतिनिधिसभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा यसपटक २५ मतदानस्थललाई ‘अति संवेदनशील’ श्रेणीमा राखिएको छ । दुर्गम भूगोल, यातायातको अभाव र बस्तीको छरिएको स्वरूपका कारण ती मतदानस्थललाई उच्च सुरक्षा निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालिएको हो ।

आगामी फागुन २१ गते हुने निर्वाचनकोलागी जिल्लामा कुल २ सय ९ मतदान केन्द्र र १ सय २ मतदानस्थल रहेका छन् भने २ वटा अस्थायी मतदान केन्द्र रहेका छन । जसमध्ये २५ मतदानस्थल अति संवेदनशील, ४० संवेदनशील र ३७ वटा सामान्य सूचीमा परेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो । भौगोलिक जटिलता नै वर्गीकरणको मुख्य आधार रहेको भट्टराईको भनाइ छ ।
“जहाँ मतदानस्थलसम्म पुग्न कठिन छ, पैदल यात्रा लामो छ र सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ, ती स्थललाई अति संवेदनशीलमा राखिएको हो,” सहायक प्रजिअ भट्टराईले भन्नुभयो, “विशेषगरी शितगंगा नगरपालिकाका सिद्धारा, सिमलपानी, जलुकेजस्ता क्षेत्र यस श्रेणीमा रहेका छन् ।”
शितगंगा नगरपालिकाका अधिकांश बस्तीहरू छरिएर रहेका छन् । कतिपय स्थानमा घरभन्दा जंगल क्षेत्र बढी रहेको र मतदाताले घण्टौँ पैदल यात्रा गरेर मतदानस्थल पुग्नुपर्ने अवस्था छ । यस्तो भौगोलिक बनावटले मतदान सुरक्षामा विशेष सतर्कता आवश्यक बनाएको सुरक्षा समितिको निष्कर्ष छ ।
सदरमुकाम नजिक तथा सडक सञ्जालको पहुँच सहज भएका मतदानस्थललाई भने ‘सामान्य’ श्रेणीमा राखिएको भट्टराईले जानकारी दिनुभयो । उहाँले सबै मतदानस्थलमा मतदाताले निर्भीक र सहज रूपमा मतदान गर्न पाउने वातावरण बनाउन सुरक्षाको थप रणनीति अपनाइने पनि बताउनुभयो ।
“सबै मतदान केन्द्रमा सुरक्षा संयन्त्रलाई सक्रिय बनाइनेछ,” उहाँले भन्नुभयो, “मतदाताले घरबाट मतदान केन्द्रसम्म ढुक्क भएर पुगेर आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सक्ने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो ।”
आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा कुल १ हजार २ सय ६५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन गरिने भएको छ । जसअनुसार नेपाल प्रहरीको कोटाबाट १ हजार १ सय ६९ जना र सशस्त्र प्रहरीको कोटाबाट ९६ जना निर्वाचन सुरक्षामा खटाइने छन् । सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार सुरक्षालाई थप मजबुत बनाउन १ सय ९३ जना निर्वाचन प्रहरी जगेडामा समेत राखिने व्यवस्था गरिएको छ ।
यस्तै, निर्वाचनका लागि ४ सय १८ वटा मतपेटीका आवश्यक पर्ने भए पनि हाल जिल्लामा ९ सय मतपेटीका उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । निर्वाचन सञ्चालनका लागि १ हजार २ सय ५४ जना कर्मचारी आवश्यक पर्ने बताउँदै भट्टराईले कर्मचारीबाट मात्र अपुग हुने अवस्था आएमा शिक्षकहरूलाई समेत निर्वाचन कार्यमा खटाइने जानकारी दिनुभयो ।
सुरक्षा व्यवस्थालाई चुस्तरूपमा परिचालन गरिने प्रहरी प्रमुख जिसीको भनाइ
अर्घाखाँची जिल्लामा भयरहित र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई चुस्तरूपमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिवस जिसीले बताउनुभयो । विशेष सुरक्षा योजना बनाएर अगाडि बढेको र निर्वाचन मिति घोषणा भएलगत्तै सुरक्षा व्यवस्था मिलाएको जिसीले बताउनुभयो । अधिकांश मतदान स्थलको सुरक्षा अवस्थाबारे अनुगमन गरिसकेको उहाँको भनाइ छ ।
निर्वाचनको समयमा अपराधजन्य गतिविधि गर्ने, निर्वाचन प्रक्रिया बिथोल्ने खालका क्रियाकलाप गर्ने तथा आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीका सम्बन्धमा सुरक्षा निकाय सजग रहेको जनाउँदै आवश्यक परेमा चौबीसै घण्टा प्रहरीलाई जानकारी गराउन प्रहरी प्रमुख जिसीले आग्रह गर्नुभयो । उहाँले शान्ति–सुरक्षाको अवस्था कायम राख्न सर्वसाधारण, राजनीतिक दल र उम्मेदवारहरूलाई समेत जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।
झण्डै ५ हजार मतदाता थप
अर्घाखाँचीमा पछिल्लो अभियानमा ४ हजार ९३५ नयाँ मतदाता थप भएका छन् । हाल १ लाख ७१ हजार ६५२ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले बताउनुभयो । जसमा महिला ८४ हजार ४९५ र पुरुष ८७ हजार १५७ रहेका छन् । २०७९ को निर्वाचनमा १ लाख ६४ हजार ७२८ मतदाता रहेका थिए ।
प्रतिनिधि सभा निर्वाचन २०८२ को लागी जिल्लाबाट १५ जनाकाे उम्मेदवारी
विष्णु प्रसाद खनाल मुस्कान – नेपाली कांग्रेस
पिताम्बर भुसाल – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
हरी प्रसाद भुसाल – राष्ट्रिय स्वतन्त्र पार्टी
राम बहादुर चौहान – नेपाली कम्युनिष्ट पार्टी
झविन्द्र फुल्लेल – राष्ट्रिय प्रजातन्त्र पार्टी
पशुपति नाथ ढकाल – राष्ट्रिय जनमोर्चा
पुष्कर नाथ आचार्य – प्रगतिशील लोकतान्त्रिक पार्टी
खिम बहादुर घर्ती मगर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
टुक बहादुर चेवाली – जनता समाजवादी पार्टी (एकल चिन्ह)
दुर्ग बहादुर भाट क्षेत्री – आम जनता पार्टी
सुर्य बहादुर गुरुङ – मंगोल नेशनल अर्गनाइजेशन
विष्णु बहादुर गाहा – नेशनल रिपब्लिक नेपाल
रवि शाह – स्वतन्त्र
हिमाल भुसाल – स्वतन्त्र
पम्फा श्रेष्ठ – स्वतन्त्र








