फागुन ६, २०८२ बुधबार-
मैले चुनेको जनप्रतिनिधिले गल्ती गर्योभने मलाई प्रायश्चित हुन्छ । आखिर फिर्ता बोलाउन पाउने होइन । किनकि नेपालमा अझै “ Right to Recall “ को प्रवन्ध छैन । त्यसैले मतदान गर्नुपूर्व धेरै पटक सोचौं, कुन उम्मेदवार निस्कलंक छ, चरित्रवान र नैतिक छ, अनि योग्य पनि छ, त्यसैलाई मतदान गरौं । मेरो दृष्टिमा अर्घाखाँची जिल्लाको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पिताम्बर भुसाल नै त्यस्ता उम्मेदवार हुन् जसले निर्वाचित भइसकेपछि मतदातालाई पछुतो हुनेगरी नियतबस कुनै गल्ति गर्ने छैनन् । उनी एक निस्कलंक, चरित्रवान, उच्च नैतिक आचरणयुक्त र योग्यतम नेता हुन् ।

उनी आधारभूत तहबाट उठेर ३० वर्ष अघि २५ वर्षकै कलिलो उमेरमा साविक बाँगी गाउँ पालिकाको अध्यक्षको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरेर त्यहाँका जनताको नजिकबाट सेवा गरेका, सन्धिखर्क हंसपुर मोटरबाटो निर्माण, शान्ति माध्यमिक विद्यालयको मूख्य भवन निर्माण लगायतका विकाशका पूर्वाधारहरुको निर्माणको नेतृत्व गरेर प्रमाणित भएका भरोसायोग्य जनसेवक हुन् ।
उनले कहिल्लै जागिरकोलागि कतै दरखास्त हालेनन् र आफू मात्र योग्य भएको घमण्ड पनि गरेनन् । आफैले प्रचार नगरे ता पनि अहिलेका उम्मेदवारहरु मध्ये उनी एक मात्र स्नातकोत्तर तहको शैक्षिक योग्यता प्राप्त योग्यतम उम्मेदवार हुन् । उनी जस्तोसुकै प्रतिकूल परिस्थितिलाई पनि अनुकुलतामा बदल्ने खुबी भएका नेता हुन् । स्थानिय पाणिनी बहुमुखी क्याम्पसबाट दुःखजिलो गरेर स्नातक तहको अध्ययन पुरा गरेका उनले माओवादी द्वन्द्वको बेला घरबार त्याग्न बाध्य बनाइएर विस्थापित भएको अवस्थालाई पनि अवसरमा बदलेर समाजशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका थिए ।
नेकपा एमालेको सन्धिखर्क नगर कमिटीको सचिव र अध्यक्षको हैसियतले पछिल्लो एक दशक मैले उनीसँग नजिक रहेर काम गर्ने अवसर पाएको छु । उमेरले आफुभन्दा कान्छो भए ता पनि उनलाई नेता मानेर राजनीति गर्दा मलाई कहिल्यै हिनताबोध भएन । त्यसैले त मैले नेकपा एमालेको उनको नेतृत्वको पार्टी जिल्ला कमिटीमा दुई–दुई पटक सचिव पदमा रहेर काम गर्ने इच्छा व्यक्त गरेको थिएँ, यद्यपि उक्त ईच्छा पुरा हुन सकेन र सम्भवतः म स्वयमले पनि सोही जिम्मेवारीको अपेक्षा गर्ने छैन ।
राजनैतिक हिसावले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद जस्तो समकालीन विश्व परिवेशमा देशको लोकतान्त्रिक अभ्यासको आवश्यकता पूर्ति गर्ने सक्ने आफ्नै धरतीमा विकशित सिद्धान्तको मार्गदर्शनमा राजनीति गर्ने अठोट लिएका नेकपा एमालेका विश्वसनीय र उदयमान नेता हुन् पिताम्बर भुसाल । पिताम्बर भुसाल कुनै आयातित नेता होइनन्, ४० वर्षदेखि निरन्तर जिल्लाको माटोमा संघर्ष गरेर खारिएका, धैर्यवान र शालीन नेता हुन् ।
पिताम्बर भुसाल सधैंभरि परिवर्तनलाई आत्मसात् गर्ने नेता हुन् । उनी एउटै पदमा लामो समय बसिरहन खोज्दैनन्। वास्तवमा उनी एक कार्यकाल अघि नै पार्टीको अध्यक्ष भईसकेको हुनु पर्ने हो । एक कार्यकाल ढिला गरी अध्यक्षको जिम्मेवारी प्राप्त गरेकोले पनि हुन सक्छ, उनले पार्टी अध्यक्षको दोश्रो कार्यकालको बीचमै नेतृत्व हस्तान्तरण गर्ने अठोट व्यक्त गरेका छन् । पार्टीभित्र नेतृत्वको निर्माण, विकास र हस्तान्तरणको उनको विचार र उनले स्थापित गर्न खोजेको अभ्यासले योग्यतम कार्यकर्ताहरुलाई नेतृत्व विकास र क्षमता प्रदर्शन गर्ने मार्ग प्रसस्त गरेको छ ।
अरु सामान्य मानिसका जस्तै उनका पनि कुनै न कुनै व्यक्तिगत कमी, कमजोरी हुन सक्छन् । संभवत उनका स्वाभाविक मानवीय कमजोरीबाट कोही कसैलाई पीडा महसुस भएको किन नहोस्, कमजोरीलाई महसुस गर्दै आफूलाई परिष्कृत गरेर अगाडी बढ्ने र उक्त कमजोरी नदोहोर्याउनेगरी होसियारी साथ कार्य सम्पादन गर्ने उनको स्वभाव साँच्चै नै अनुकरणीय छ । त्यसैले पनि पार्टी केन्द्रीय कमिटीबाट उनलाई उम्मेदवारी प्रदान गर्दा सबै नेता, कार्यकर्ताहरुले पार्टीले न्याय गरेको अनुभूति गरेका छन् र अरु कसैले कहीं, कतै दुखेसो व्यक्त गरेका छैनन् ।
नेकपा एमाले जस्तो सुसंगठित जनआधारित कार्यकर्ता पार्टीको योग्यतम उम्मेदवार भएकोले र त्यसमा पनि अर्घाखाँची जिल्लाको पार्टीको यस अघिको विरासतले पनि उनको विजयलाई सुनिश्चित गरिसकेको छ । तर पनि एउटा सक्षम विधायकलाई निर्वाचित गरेर अर्घाखाँची जिल्लाको विकास र सम्वृद्धिकोलागि नीति निर्माण तहमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने कार्यमा आफ्नो स्वामित्व स्थापित गर्न नचुक्नुहुनकोलागि अर्घाखाँची जिल्लाका सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।
श्रीकृष्ण भुसाल
सन्धिखर्क –१, अर्घाखाँची
फागुन ६, २०८२ बुधबार-








