सोमबार २८ बैशाख २०८३

श्याम घिमिरे, चैत ८ –

अर्घाखाँचीमा बालबालिकाको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वर्ण विन्दु प्राशन अभियान सुरु हुने भएको छ । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन हुने उक्त अभियान यही चैत १४ गतेदेखि सुरु हुने जानकारी केन्द्रले दिएको छ ।

आइतवार सन्धिखर्कमा आयोजित स्वर्ण विन्दु प्राशन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै केन्द्रका कार्यालय प्रमुख कमल प्रसाद आचार्यले अभियानको औपचारिक सुरुवातबारे जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा सन्धिखर्क नगरपालिका वडा नं. १ र २ का १ देखि ५ वर्ष उमेर समूहका झण्डै एक हजार बालबालिकालाई स्वर्ण विन्दु प्राशन गराइनेछ ।

कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय दाङका वरिष्ठ बालरोग विशेषज्ञ डा. अर्जुन राज शर्माले स्वर्ण विन्दु प्राशनको महत्व, प्रयोग विधि तथा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न यसको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने, स्मरण शक्ति बढाउने तथा मौसमी रोगबाट जोगाउन मद्दत गर्ने बताउनुभयो ।

अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम यहि चैत १४ गते बिहान ६ बजेदेखि १० बजेसम्म अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको प्राङ्गणमा सञ्चालन गरिनेछ । १ देखि २ वर्ष उमेर समूहका बालबालिकालाई २ थोपा र २५ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई ४ थोपा खुवाइने छ । स्वर्ण विन्दु सेवनका लागि बालबालिकालाई खाली पेट ल्याउन अभिभावकलाई आग्रह गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका,स्थानीय विद्यालयका शिक्षक, कर्मचारी, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षता तथा आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी पशुपति पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अस्पताल विकास समिति सदस्य कमला खनाल भण्डारी,नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायतले अभियान सफलताको शुभकामना दिनुभएको थियो ।

यस्ता अभिमुखीकरण कार्यक्रमले आयुर्वेदप्रति जनचेतना अभिवृद्धि गर्ने तथा परम्परागत उपचार पद्धतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।


Last Updated on: March 23rd, 2026 at 9:22 am
४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया