
श्याम घिमिरे,साउन २३ सन्धिखर्क, अर्घाखाँची । नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना अन्तर्गत कालोपत्रे हुन बाँकी करिब १ सय ४० किलोमिटर सडक खण्डको ठेक्का प्रक्रिया यसै वर्ष अघि बढाइने बताउनुभएको छ ।
सन्धिखर्कमा सनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले सडक आयोजना जिल्लाको महत्वपूर्ण पूर्वाधार भएकाले बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । उहाँले सडकको बाँकी खण्डमा निर्माण कार्य अघि बढाउन आवश्यक प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अर्घाखाँचीसहित पहाडी क्षेत्रका विभिन्न जिल्लालाई तराईसँग जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको छ । सडकको बाँकी खण्ड कालोपत्रे भएपछि अर्घाखाँचीबाट बुटवल तथा अन्य क्षेत्रसम्मको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पूर्वाधार विकास मन्त्री लम्साल समक्ष जिल्लामा निर्माणाधीन तथा आवश्यक देखिएका विभिन्न योजनालाई गति दिन माग गर्नुभएको छ । नगरप्रमुख श्रेष्ठले सडक पूर्वाधारसँगै सन्धिखर्क बजारको व्यवस्थापन, विमानस्थल निर्माणलगायतका महत्वपूर्ण योजनाका लागि आवश्यक बजेट तथा व्यवस्थापन गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जिल्लाका विकास आयोजनाहरू लामो समयदेखि विभिन्न चरणमा रहेकाले पर्याप्त बजेटको व्यवस्था गरी निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको बताइएको छ ।
नगरप्रमुख श्रेष्ठले जिल्लाको समग्र विकास र नागरिकको सहज आवागमनका लागि ठूला पूर्वाधार योजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै संघीय सरकारबाट प्राथमिकताका साथ सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ । मन्त्री लम्सालले जिल्लाबाट उठाइएका विकास निर्माणसम्बन्धी माग तथा समस्यालाई सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ ।