
श्याम घिमिरे
भदौ १७, अर्घाखाँची ।
निवृत्त राष्ट्रसेवक समाज नेपाल, अर्घाखाँचीले ८६औँ निवृत्तिभरण दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । समाजले बुधवार दिवसको अवसर पारेर आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेको हो ।
कार्यक्रममा समाजका जिल्ला अध्यक्ष कमलप्रसाद घिमिरेले निवृत्त राष्ट्रसेवक समाजले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले समाजले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
यसै अवसरमा समाजले गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी कार्यमा सहयोग र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीपीडितको सहयोगार्थ समाजले आर्थिक सहयोग संकलन अभियानसमेत सुरु गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
समाजका जिल्ला अध्यक्ष घिमिरेको अध्यक्षता तथा सहसचिव विष्णुप्रसाद मिश्रको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय सदस्य विष्णुप्रसाद आचार्य, पुष्पा न्यौपाने, टामलाल पाण्डे, केन्द्रीय प्रतिनिधि जीवनारायण खनाल, सन्धिखर्क नगर अध्यक्ष रामजीप्रसाद मरासिनी, भूमिकास्थान नगर अध्यक्ष राजेन्द्रकुमार शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रसेवाबाट निवृत्त भए पनि निवृत्त राष्ट्रसेवकहरूको लामो अनुभव, ज्ञान र सीप समाजसेवा तथा जिल्लाको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
निवृत्त राष्ट्रसेवक समाज नेपाल, अर्घाखाँचीले सामाजिक सेवा तथा निवृत्त राष्ट्रसेवकहरूको हकहितका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको जनाएको छ । समाजले आगामी दिनमा पनि सामाजिक, मानवीय तथा सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
