सोमबार २९ भाद्र २०८३

श्याम घिमिरे, भदौ २९ अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका–९, गोखुङ्गास्थित श्री सूर्य माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । महायज्ञ मूल समारोह समितिको आयोजनामा २०८३ कात्तिक १२ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन हुने जनाइएको छ ।

महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचक प्रविण पण्डित दिनबन्धु पोखरेल प्रमुख कथा वाचकका रूपमा सहभागी भई श्रीमद्भागवत कथा तथा धार्मिक प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गर्नुहुने आयोजकले जनाएको छ ।

महायज्ञमा लाखबत्ती, ८४ पुजा, तुलादान, धनधान्याञ्चल, विवाह, व्रतबन्ध, ४ हजार कलश पूजा, ग्रहशान्ति तथा १०८ शालिग्राम परिक्रमा एवं पुजन लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने ९ नम्बर वडाध्यक्ष महेन्द्रबाबु खनालले बताउनुभयो ।

महायज्ञबाट प्राप्त हुने सहयोग रकमबाट विद्यालयमा स्मार्ट कक्षाकोठा व्यवस्थापन, छात्रावास÷आवास भवन तथा अन्य शैक्षिक र भौतिक पूर्वाधारको स्तरोन्नतिमा प्रयोग गर्ने लक्ष्य राखिएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष पदम क्षेत्रीले बताउनुभयो । त्यस्तै, विद्यालयलाई प्रविधिमैत्री तथा व्यावसायिक नमुना विद्यालयका रूपमा विकास गर्ने, आत्मनिर्भर तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसमेत रहेको अध्यक्ष क्षेत्रीको भनाइ छ ।

त्यसैगरी, अभिभावक, शिक्षक तथा विद्यार्थीमा संस्कारयुक्त सकारात्मक सोच र भावनाको विकास गर्ने, धार्मिक एवं सांस्कृतिक धरोहरको संरक्षण तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने र स्थानीय क्षेत्रमा आध्यात्मिक चेतनाको विकास गर्ने महायज्ञका अन्य उद्देश्यहरु रहेको बिद्यालयका प्रधानाध्यापक डुक प्रसाद पौडेलले जनाउनुभयो ।

महायज्ञलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सूर्य माध्यमिक विद्यालयमा आयोजित वृहत् भेलाले क्षेत्रीको संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

यसैबिच आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन, अभिभावक, शुभेच्छुक, दानदाता तथा स्थानीयवासीलाई महायज्ञमा सहभागी भई धार्मिक पुण्यलाभ लिनुका साथै विद्यालयको शैक्षिक विकास अभियानमा साथ दिन हार्दिक अनुरोध गरेको छ ।

महायज्ञ लगाउनुको मुख्य उद्देश्य

  •  विद्यालयमा स्मार्ट कक्षाकोठा व्यवस्थापन
  • छात्रावास/आवास भवन तथा अन्य शैक्षिक र भौतिक पूर्वाधारको स्तरोन्नति
  • विद्यालयलाई प्रविधिमैत्री तथा व्यावसायिक नमुना विद्यालयका रूपमा विकास गर्ने
  • आत्मनिर्भर तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने
  • अभिभावक, शिक्षक तथा विद्यार्थीमा संस्कारयुक्त सकारात्मक सोच र भावनाको विकास गर्ने
  • धार्मिक एवं सांस्कृतिक धरोहरको संरक्षण तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने
  • स्थानीय क्षेत्रमा आध्यात्मिक चेतनाको विकास गर्ने

महायज्ञ व्यवस्थापन,समन्वय तथा सञ्चालन

महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचक पण्डित दिनबन्धु पोखरेलको टोलीसँगै ‘१०१ प्राविधिक शिक्षालय अभियान’का संकल्पकर्ता चन्द्रप्रसाद वसेल (ध्रुव शरण) को पूर्ण व्यवस्थापन तथा समन्वयमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

को हुन् चन्द्रप्रसाद वसेल (ध्रुव शरण)

चन्द्रप्रसाद वसेल (ध्रुव शरण) नेपालमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘१०१ प्राविधिक शिक्षालय अभियान’का संकल्पकर्ता हुन् । शिक्षा नै समृद्धि र आत्मनिर्भरताको आधार हो भन्ने विश्वासका साथ उहाँले देशका विभिन्न स्थानमा प्राविधिक शिक्षालय स्थापना गर्ने अभियानलाई निरन्तर अघि बढाइरहनुभएको छ ।

यस अभियानअन्तर्गत हालसम्म १६ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन भई करिब १,४०० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन् । अभियानमार्फत कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, बाली विज्ञान, सूचना प्रविधि (आईटी), अटोमोबाइल इन्जिनियरिङ तथा बीआईसीटीई (BICTE) लगायतका रोजगारमुखी प्राविधिक विषयहरू सञ्चालन हुँदै आएका छन् ।

गुणस्तरीय प्राविधिक शिक्षा गाउँ–गाउँसम्म पुर्याइ   युवालाई दक्ष, आत्मनिर्भर र रोजगारीमुखी बनाउने उहाँको अभियान आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । शिक्षा, सीप र अवसरलाई एकै ठाउँमा जोड्ने यस अभियानले नेपालमा प्राविधिक शिक्षाको नयाँ सम्भावना सिर्जना गर्दै भविष्यका सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । महायज्ञबाट झण्डै तिन करोड रुपैया संकलनहुने आयोजकको अनुमान रहेको छ ।

बिभिन्न उपसमिति गठन
महायज्ञलाई भव्य, सभ्य, व्यवस्थित तथा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक विभिन्न उपसमितिहरू गठन गरिएको महायज्ञ मूल समारोह समितिले जनाएको छ । समितिका अनुसार महायज्ञको प्रभावकारी व्यवस्थापन, समन्वय तथा सञ्चालनका लागि विषयगत जिम्मेवारीअनुसार उपसमितिहरू गठन गरिएको हो ।


Last Updated on: September 14th, 2026 at 12:09 pm
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया