शनिबार ०१ कार्तिक २०८३
श्याम घिमिरे

असोज ३० अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा भूगर्भ सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कबापत ३० लाख रुपैयाँभन्दा बढी र खानी तथा खनिजसम्बन्धी रोयल्टीबाट १ करोड १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार गत आर्थिक वर्षमा भूगर्भ सिमेन्ट उद्योगबाट ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्कबापत प्राप्त भएको हो। त्यस्तै, खानी तथा खनिजसम्बन्धी रोयल्टीबाट १ करोड १७ लाख ६५ हजार १६० रुपैयाँ आम्दानी भएको नगरपालिकाले स्पष्ट पारेको छ ।

नगरपालिकाले यी दुवै रकम फरक–फरक शीर्षकअन्तर्गत प्राप्त हुने आम्दानी भएको उल्लेख गर्दै स्थानीय विकास शुल्क र खानी रोयल्टीलाई एउटै शीर्षकमा राखेर बुझ्न नहुने जनाएको छ । नगरपालिकाको आम्दानी विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा तथा टिप्पणीहरू सार्वजनिक हुन थालेपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिमार्फत नगरपालिकाले सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टीको रकम छुट्टाछुट्टै रहेको स्पष्ट पार्दै आम्दानीको विवरणबारे देखिएका अन्योल हटाउने प्रयास गरेको छ ।


Last Updated on: October 16th, 2026 at 7:59 pm
११ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑