
श्याम घिमिरे, कात्तिक ७ अर्घाखाँची । अर्घाखाँचीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई उजागर गर्ने उद्देश्यले सन्धिखर्क नगरपालिका–९ अर्घाको मसुरपाटामा अर्घा पर्यटन प्रवद्र्धन केन्द्रित दशैँ मेला–२०८३ शुक्रबारदेखि सुरु भएको छ । मेलाको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाको पहिचान, पर्यटन प्रवद्र्धन र स्थानीय संस्कृति संरक्षणका लागि मेला महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले अर्घाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई व्यापक रूपमा प्रचारप्रसार गर्दै पर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यस्ता मेलाले स्थानीय कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै पर्यटनमार्फत स्थानीय क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख कमलप्रसाद भुसालले देशमा देखिएको अशान्तिलाई शान्तिमा बदल्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा शान्ति, सद्भाव र एकता कायम गर्दै मुलुकको समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
मेलाको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ज्ञवाली, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति खगेश्वर भुसाल, नेपाली कांग्रेस–९ नम्बर सभापति ठाकुरप्रसाद भुसाल, अर्घा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसाल, पत्रकार प्रेमनारायण आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले अर्घाको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन, स्थानीय कला–संस्कृतिको संरक्षण र आन्तरिक पर्यटनको विकासमा मेलाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका–९ नम्बर वडाध्यक्ष पदम भुसालको अध्यक्षता, वडा सदस्य विष्णुप्रसाद आचार्यको स्वागत मन्तव्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अर्घाखाँचीका अध्यक्ष बलराम रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो ।वडाध्यक्ष भुसालका अनुसार मेला कात्तिक ६ गतेदेखि सुरु भई कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सहभागी भई अवलोकन गर्न आयोजकले सबैलाइ आग्रह पनि गरेको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
अर्घाको धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार, स्थानीय कला–संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनलाई मुख्य लक्ष्य बनाइएको मेलाले यस क्षेत्रको पहिचान स्थापित गर्न तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।