बुधबार ०६ साउन २०८३

के पी भुसाल ‘अजस’
काला मेघ सबै हटेर कणका,आकाश् भयो कन्चन,
धर्तीका सब फूलमा शरद नै,छर्यो सफा चन्दन,
फुल्छन् पुष्पहरू अनेक थरका,उद्यानमा यी दिन,
चल्छन् सौरभ मौसमी पवनमा,कोही कतै छेक्दिन ।

वर्षायाम झरी र गर्जन सहदै भोगेर सास्ती अनि,
बाँचेका सब जीव धारणहरू,रम्छन्असाध्यै पनि,
पीडा ताप सबै हटे प्रकृतिका हट्यो कडा बन्धन ,
प्राणीका मनमा अपार सहजै, छायो खुसी नन्दन ।

औंसीको पनि रातमा गगनका,तारा बने उज्जर,
आए रश्मि रसाइ शशिका,राती भयो सुन्दर,
यस्तो मोहक शुक्लपक्ष महिमा,केगर्नु ब्याख्या बढी,
कस्तो भावुक बन्छ यो मनचरी,टोलाइ हेर्दा घडी ।

आयो पर्व दसैं यसै शरदमा, ल्यायो खुशीका पल,
गन्धा फोहर छैन है शहरमा, बस्ती भए मङ्गल ,
न्यास्रो छैन हटे तनाव नरमा,छैनन् कुनै तल् तल,
मेलापर्व नहो सधै मनुजमा,चिन्ता लखेट्ने बल ।

चिन्ता धेर भएर मानव कतै, दिग्दार खेप्नेभरी,
वैरागी मन ती निशा शरदमा,होलान् चकोरी सरी,
यस्ता गौरव मास ता शरदका, मिल्दैन वर्षैभरी,
आउँछन् घुमदै बिजोग चरका,पीडा सुधार्नेगरि ।।

प्रकाशन मिति : २०८० असोज १६


Last Updated on: August 24th, 2024 at 4:32 am
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया