बुधबार ०६ साउन २०८३

के पी भुसाल ‘अजस’
(१)
मान्छे अचाक्ली किनगर्छ द्वेष,
भुलेर पूर्खा किन छाड्छ भेष,
नगर्नु डाह हुनजान्छ उल्फा,
घट्दैन हुर्मत् किन भुल्नु पूर्खा,
(२)
माधुर्य बोली सुखशान्ति दिन्छ,
झर्को वचन्मा कलिमात्र चुम्छ,
मनुष्यचोला चरमा छ हाइ,
लाग्दैन पैसा प्रिय बन्नलाई,
(३)
अमान्य बोली विषतुल्य हुन्छ,
अपाच्य वाणी मनभित्र फुट्छ,
हुदा शुभाषी फलिफाप हुन्छ,
लाग्दैन पैसा दिल साफ बन्छ,
(४)
हुन्छन् कतै बृद्धहरू विरक्त,
रुन्छन् कतै बालपनि असक्त,
हटाउ पीडा दुखमा अपार,
लाग्दैन पैसा गरदा सुसार,
(५)
पन्छाउ काँडा पथमा रहेका,
हटाउ तृष्णा मुटुमा गडेका,
खोजेर मुन्टा फुलका बचाउ,
लाग्दैन पैसा वनमा सजाउ,
(६)
सुपाच्य खाए हितमात्र हुन्छ,
बाँचे बचाए हरिसाथ दिन्छ,
अज्ञाान ठूलो हुनजान्छ घाउ,
लाग्दैन पैसा दुखमा सघाउ,
(७)
रहेछ संसार विचित्र जात्रा,
छोटोछ जीवन् अपार यात्रा,
बुझेर गर्दा सतको सवार,
हुदैन पैसा तर पाइन्छ पार ।।

प्रकाशन मिति :२०८० पुष ६ गते


Last Updated on: December 22nd, 2023 at 12:24 pm
२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया