
फागुन १ सन्धिखर्क-
सन्धिखर्क नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, रुपेन्देहीबीच निःशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउन सम्झौता भएको छ । सन्धिखर्क नगरपालिका भित्रका स्थानीय बासिन्दा र नगरपालिकाका कर्मचारीहरुलाई निःशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउन सम्झौता भएको रेडक्रस अर्घाखाँचीका सभापति कुसल भुसालले बताउनु भयो ।

रुपन्देही जिल्लाभित्र सञ्चालनमा रहेका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गराउने सन्धिखर्क नगरपालिकाभित्रका स्थायी बासिन्दा/कर्मचारीहरुलाई निःशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने र नगरपालिकाबाट रक्त सञ्चार सेवा केन्द्र रुपन्देहीको लागि रगत संकलन कार्यमा सहयोग गर्ने उद्देश्यले मंगलवार एक कार्यक्रमका बिच सम्झौता गरिएको सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्ना नागरिकलाई रगत र रगतजन्य पदार्थको अभावबाट बचाउनको लागि जिल्लामै पहिलो पटक यसप्रकारको कार्य गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
पहिलो चरणमा रुपन्देही र त्यसपछि चितवन सहित काठमाडौंका निजी तथा सरकारी हस्पिटलमा पनि निःशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउनको लागि पहल गर्ने भुसालले बताउनुभयो ।
सम्झौतामा पहिलो पक्षको तर्फबाट नगर प्रमुख श्रेष्ठ, रोहबरमा उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत भुसाल र दोस्रो पक्षको तर्फबाट नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी, रेडक्रस अर्घाखाँचीका सभापति कुशल भुसाल, मन्त्री तुल्सी पौडेलले हस्ताक्षर गर्नुभएको ।
यसप्रकारको सम्झौताले रगत र रगतजन्य पदार्थको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अबस्थाको अन्त्य हुनेमा स्थानिय नागरीकहरु आशाबादि रहेका छन ।