श्याम घिमिरे,
फागुन १५ अर्घाखाँची
नेपाल स्वास्थ्य बीमा बोर्डका सदस्य डा.मुक्ति श्रेष्ठले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल प्रेस युनियन अर्घाखाँचीले मंगलवार सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले स्वास्थ्य बीमाको बारेमा पूर्णरुपमा जानकारी नहुँदा सबै मानिसहरु जोडिन नसकेको बताउनुभयो । बीमा गरेपछि एक लाख रुपैयाँ खर्च गर्नेपर्छ भन्ने मान्यताका कारण अनावश्यक रुपमा चेकजाच गर्ने प्रवृत्ति बढेको भन्दै बोर्डले गएको माघ १ गतेदेखि लागू हुने गरी बिमा उपचार खर्चमा बिमितबाटै १० प्रतिशत रकम तिर्नुपर्ने गरी नीति लिएको श्रेष्ठको भनाई छ । १० प्रतिशत रकम तिर्नुपर्ने नियम हाल १५ बेड भन्दा माथिका अस्पतालमा मात्र लागू भएको भन्दै श्रेष्ठले १५ शैयामुनिका अस्पतालमा सबै निःशुल्क हुने गरेको बताउनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय तिरे बापत एउटा परिवारले एक लाख रुपैयाँ बराबरको सुविधा पाउँछन् । तर नयाँ नीति अनुसार उपचार गरेको कुल खर्चमध्ये १० प्रतिशत बिमितले तत्कालै सम्बन्धित स्वास्थ्य संस्थामा तिर्नुपर्नेछ । बिरामी र स्वास्थ्यकर्मी दुवैले अनावश्यक परीक्षण गराइ बीमाको रकम सक्ने गरेको अवस्था भएपछि बोर्डले नयाँ निर्णय लिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले ५७ प्रतिशत नेपाली जनताहरु स्वास्थ्य बिमामा आबद्धता रहेको बताउदै व्यवस्थापकिय कमजोरीलाइ सुधारगर्न सके स्वास्थ्य बिमा प्रभाबकारी हुने दाबि समेत गर्नुभयो । अर्घाखाँचीमा ४७ प्रतिशत मानीसहरु स्वास्थ्य बिमामा आबद्ध रहेको श्रेष्ठ बताउनुभयो ।
कार्यक्रम नेपाल प्रेस युनियनका अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता,पुर्बअध्यक्ष विरेन्द्र केसीको स्वागत मनतब्य र रुद्रमणि भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।