आइतबार २८ आषाढ २०८३

के पी भुसाल अजस’

लाखौंलाख अनन्त यो गगनमा, चम्केर तारा गण,
रात्रौ चन्द्र बिना हुदैन धरती, केही उजेला क्षण ।
दुःखीको सख चाँदनी अजरता,छाड्दैन यस्ले शशि
यस्ता रक्षक देवको पनि सधै,फेरिन्छ दैनिक् गति ।।

औँसीको रजनी खुबै जगतमा, हुङ्कार देखाउछ,
एक्लोहोस् तर पुर्नियाँ सङ भए,भोक् पीर बिर्साउछ ।
जो हेर्छन् भरिलो मुहार जुनको,भेट्छन् खुसीका पल,
रोकिन्छन् क्षणमै सबै नयनका, बग्दै गरेका भल ।।

पाक्षिक् मात्र नहो शशाङ्क नभमा,फिर्ने खुबै रातमा,
देखिन्छन् अझ यी फरक् दिनदिनै, नानाथरी रूपमा ।
यी उशापतिले कुनै बखतमा,भोग्छन् दुखद् का कुरा,
घेरेको उपराग कै समयमा, लुक्छन् उजेली पुरा ।।

ज्योतिष् मा पनि सोमका गुणहरू,चर्चा भएको जति,
मानिन्छन् तिथि पक्षनै समयका,होचन्द्रको चाल् गति ।
मान्छेका गुण दोषमा असरता, यिन्कै प्रभाव हो भनि,
गर्छन् पूजनता खुबै जनहरू, हट्नेछ पीडा भनि ।।

प्राणीमा मनु नै महान चरहो, प्रज्ञा विवेक् को धनी,
बन्छन् पीडक ती विषाक्त हृदयका,मान्छे कुकर्मी भनि ।
ज्ञानी सीतल दिन्छ मानव सधै, हाँसेर चन्द्रै सरी,
अज्ञानी जनता हुदैन खुसमा, राख्दैन पेट्मा हरि ।।

प्रकाशन मिति : २०८० फागुन १६


Last Updated on: February 28th, 2024 at 2:37 am
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया