Trend
बुधबार , फागुण ६, २०८२

बैशाख ११,

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । कतारका अमिर थानी दिउँसो पौने ४ बजेतिर विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ । कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपतिसँगै स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो ।

यसैबिच कतारका राजा थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्नुभएका थानी राष्ट्रपति पौडेललाई भेट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै शितल निवास पुग्नुभएको थियो । उहाँको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको समेत आयोजना गर्नुभएको छ । भोलि बिहान कतारका राजा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने भएको छ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ ।

कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व) बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो । कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । सरकारले कतारका राजाको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाण्डौको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ । विशिष्ट पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । सडक, चोक, गल्ली, पुल, विभिन्न अग्ला भवन लगायतमा पुगेर नेपाली सेनाले सुरक्षा दिइरहेको छ । सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ ।

source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP