श्याम घिमिरे,
जेठ १३ अर्घाखाँची
पोलियो विरुद्ध ‘आईपीभी’ खोप अभियान आजबाट देशभर प्रारम्भ भएको छ । अभियान अन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकाहरुलाई खोप लगाइने छ । ७७ वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले जानकारी दिनुभयो । यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ असौजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने गौतमले बताउनुभयो ।
विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आईपीभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र ७ पटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यसैबीच, अर्घाखाँचीमा सात हजार ५ सय ७५ बालबालिकालाई लतिक्ष गरेर सञ्चालित खोप अभियान आजबाटसुरु भएको छ । जिल्ला खोप समन्वय समितिले जिल्लाका ६ मध्ये ५ स्थानीय तहमा आजदेखि जेठ १७ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाएको छ , मालारानी गाउँपालीकामा भने जेठ २० गतेसम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो । अभियानका लागि जिल्ला भरमा तीन सय ८८ वटा केन्द्र निर्धारण गरिएको छ । अभियानमा तिन सय ८८ जना स्वास्थ्यकर्मी र सात सय ७६ जना स्वयंसेवक परिचालन भएको स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीले बताउनुभयो ।