कात्तिक २०, अर्घाखाँची –
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना उदयठाटीमा सोमवार साँझ देउसी भैलो नाचिरहेको ठाउँमा बस दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका १ ढाकाबाङ्गकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै र भूमिकास्थान नगरपालिका ६ खिल्जीकी २२ वर्षीय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
यस्तै घाइते भएका ३५ जनाको उपचार भइरहेको छ । दुर्घटनामा परी गम्भीर घाइते १० जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरी प्रमुख मल्लले बताउनुभयो । अन्य २५ जना घाइतेको भने अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । सोमवार साँझ करीव ५ बजे देउसी भैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको एक्कासी ब्रेक फेल भएपछि बाटोमा देउसी भैलो खेलिरहेका र मेला हेर्न पुगेका व्यक्तिहरुलाइ ठक्कर दिएको प्रहरीको भनाइ छ । सो स्थानमा भैलोका बिभिन्न समुह बनाइ नाच्ने परम्परा रहेको स्थानीयबासीले बताएका छन । घटनास्थलमा प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । यही घटनामा अन्य ३ वटा गाडीमा समेत क्षती पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
याे पढ्नुहाेस