शनिबार १९ बैशाख २०८३

केपी भुसाल अजस

धर्तीको शिर यो सधै चहकिलो, छेकेर छेकिन्छर,
नेपाली जनको छ छाप खुनको, मेटेर मेटिन्छर।
पुर्खाको इतिहास गौरवमा, धोका कहाँ हुन्छर,
संसारी गतिमा समोच्च नभए, नेपाल बन्ने छर।।

सीताजी भृकुटी तथा जनकको,अस्तित्व लुक्ने छर,
शान्तिक्षेत्र विख्यात बुध्दमहिमा,क्षिप्ने कतै हुन्छर।
सानो त्यो बलभद्रको टुकडिले, भोकै लडेथे तर,
यस्ता वीर र साहसी कदमको,भुल्ने मिता हुन्छर।।

यो धर्ती भरमा पवित्र थलता, नेपाल नै हैनर,
यस्तो पावन देवभूमि महिमा, ढाकेर ढाकिन्छर।
स्वार्थी क्वै जनले कुचाल रचदै,धोका दिएमा तर,
पापी ती खतकी जुका मुलुकका,क्षिप्ने सधै हुन्छर।।

पुर्खाको इतिहास सज्जनहरू भुल्ने हुदैनन् तर,
अज्ञानी कपटी सधै अघिबढे,नेपाल बन्ने छर।
नेपाली जन नै सचेत नभए, कस्ले व्यथा बुझ्छर,
आफ्नो देश र मातृभूमि महिमा,भन्दा ठुलो के छ र।।

नेपाली शिरमा रिनैरिन भए, कस्ले ठूलो ठान्छर,
अर्का कै भरमा समृध्द हुनता,को नै कहाँ हुन्छर।
आफ्नै पौरखमा रमाइ रहने, नेपाल मै हैनर,
धर्तीको अतिउत्तम शान टुकडी स्वर्गैसरी हैनर।।

उर्जा धेर दिने छ शक्ति यसमै,यस्तो कहाँ मिल्छर,
धेरै जात जडीबुटी उपजको, नेपाल नै हैनर।
छन् भण्डार यहाँ सबै खनिजका,के नै कमी पो छर,
यस्को शान उँचो बनाउन सधै,जन्ता विना हुन्छर।।

बस्नै पर्छ युवा यसै मुलुकमा, हट्छन् सबै बन्जर,
गर्नै पर्छ अनेक उद्यमहरू, बाँचिन्छ आफ्नै भर।
मिल्छन् औसर मातृभूमि यसमै,के नै कमी पो छर,
राखौंहै सबले स्वदेश गरिमा,नेपाल हाम्रो घर।।
प्रकाशन मिति :२०८१ चैत २२


Last Updated on: April 6th, 2025 at 6:49 am
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया