
तस्वीर : क्यान
चैत ३१, २०८१ आइतबार काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई डीएलएस मेथडका आधारमा ५ रनले हराएको हो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको अवस्थामा खेल खराब प्रकाशका कारण रोकिएको हो । त्यसपछि खेल शुरू हुन नसकेपछि नेपाल डीएसएल मेथडका आधारमा विजयी भएको हो ।

यसअघि मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो । केही दिनदेखिको वर्षाका कारण मैदान चिसो भएका कारण ढिलो शुरू भएको खेल ४० ओभरमा झारिएको हो ।
यस्तै अर्काे खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको छ । एशिया छनोटमा नेपाल, यूएईसहित अफगानिस्तान, हङकङ र ओमान सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ । स्राेत : उज्यालाे अनलाइन