Trend

✍️कल्पना मरासिनी
भूमिकास्थान, ९ ढिकुरा, अर्घाखाँची
हाल : काठमाडौ

सम्झन्छु म १० बर्षकि हुँदा
बालाई बल्ल बल्ल मनाएर
बिहान भाई बहिनी न उठ्दै
म र आमा
चन्द्रमा पाकुको डाँडो माथी पुग्दै गर्दा
तारा खसे र पोखेडाँडाको बाटो हुँदै
कसरी पुग्थ्यौँ मसुरपाटा ।

रुखो, फूस्रो र उजाड त्यो चौर
अगिल्लो रात भैरव नाचेर
उडाएको धुलो, मानिसका
अनिदाँ र टर्रा आँखा सहित
सबैलाई स्वागत गर्दै थियो मसुरपाटा ।

यसै गरी आज (४० बर्ष पछि) पनि
आफ्ना सम्पूर्ण जिल्ला बासीलाई
छातीमा टाँसेर
अङ्गालोमा कसेर कसरी
स्वागत गर्दै छ अर्घा मसुरपाटा ।

हिजोको एकान्त पन बिर्सेर
आफ्नो मृदु मुस्कान पस्कँदै
अनि आफ्नो छातीमाथि परेका ती
लाखौं हजारौं प्रेमिल पाईलालाई
कसरी चुम्दै छ आज मसुरपाटा ।

“पूर्णिमा“ र “अर्घा“ पर्यायवाची
बने देखि सबै भन्दा धेरै
आफन्तहरू समेटी उमंगको रौनक पस्केर
यसपाली चै नयाँ रेकर्ड राख्न
सफल भएको छ, मसुरपाटा

सयौ पसल, स्टल अनि हजारौं सपना
साथी भाई अनि आफन्त सँग को भेटघाट
दशैँमा गाउँ
जानेहरूको खुसीमाथी
“ताज“ थपिदिएको छ
आज मसुरपाटा ।

देवी माताको पाउमा त्यो
गगन चुम्बि रंगीन आलम हरु
त्यो अदभूत सराय नाँच अनि
पञ्चेबाजा र “वा.. खैइ“ को
कर्तुल ध्वनि पस्कँदै आज आफैँमा
ब्यस्त र मस्त छ मसुरपाटा ।

स्वर्गका सम्पूर्ण देवगणलाई
समेत छक्क पार्ने गरि विश्वभरी
लाग्ने अनेकौं मेला, जात्रा अनि
उत्सव र महोत्सवलाई पछि
पार्दै विजयी धावकले झैँ छाती
चौडा पारी गर्वले फुलेको छ आज मसुरपाटा ।

शिवरात्रीमा पशुपतिनाथ कहाँ
पाल्नु हुने सम्पूर्ण योगी पाहुनाहरूलाई राज्यले
दक्षिणा दिएर विदा गरे झैँ
आज सबै आगन्तुकहरूलाई
मीठा र अविस्मरणीय सम्झनाका कोसेली थमाई दिएर बिना खाली हात
पठाई रहेछ आज मसुरपाटा ।

त्यो महान उत्सवमा भौतिक रुपमा
सरिक हुन न सके पनि त्यही चौरमा पाकिरहेका
अनगिन्ती पकवान मध्येको
एक टुक्रा तातो जेरी जस्तै गुलियो र मीठो सम्झना अनि कल्पनामा
सजाई रहेछु मेरो हृदयमा मसुरपाटा ।।

प्रकाशन मिति :२०८२ बैशाख २६

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP