
के पी भुसाल ’अजस’
प्रजा भन्नु जन्ता सबै तन्त्र भन्नु शासन,
प्रजातन्त्र जनताको उत्कृष्ट हो शासन ।
दुराचारी झुक्काएर पायो भने आसन ,
प्रजातन्त्र अफाप हुन्छ सुन्दा कोरा भाषण ।।

मातृभूमि फूलबारीहो फुल्छन् लाखौं फूल,
प्रजातन्त्र जहाजहो नगरेमा भुल ।
जिम्मा लिन्छन् धेरै कुरा सारथि र माली,
राम्रो गरे खान्छन् ताली बिग्रेभत्के गाली ।।
कुनाकाप्चा दिनु पर्छ जहाज को सेवा,
फूलबारीको हुन्न सेवा, देखाएर मेला ।
जहाजका सारथी र फूलबारी का माली,
यिन्कै सारा कति खोल्नु सबै नालीबेली ।।
रोक्ने हैन प्वाल पार्ने भष्टाचारका तिर,
ठूला सिट खाली हुदा गर्छन् सारै पीर ।
जता जता फुलीमुन्द्री आँखा उतै तीर,
यो चालले जहाजता जाला कता तीर ।।
जहाजको कुञ्जी हुन्छ सधै तानातान,
चावी पाए भुल्दै जाने जत्रा पनि घात ।
खिया लाग्दा जहाजको सफा गर्ने हैन,
यात्रु सारा अलपत्र , मुठ्ठी भरला चैन ।।
प्रजातन्त्र आफैमात त्रुटि केही छैन,
होलि खेल्दा नायकले हुन्न कतै चैन ।
हाक्यो रथ कहाँ जाने बाटो थाहा छैन,
यो चालले प्रजातन्त्र फस्टाउने हैन् ।।
ओर्लि छाडे यात्रु सबै रथ होला खाली,
फूल्बारीको रक्षा नभए बस्छ कहाँ माली ।
सधैभरी खप्ने छैन जाल हान्ने जाली,
विहानीको साथ साथै आउछ राम्रो माली ।।
सानो ठूलो हुन्न कोही प्रजातन्त्र भित्र,
हक मत बराबरी हुन्छ साझा छत्र ।
धनी गरिव बिच यस्तै खाडल् बढ्दै गए,
भोको पेट्ले कहाँ भन्छ प्रजातन्त्र जय ।।
औकात् भन्दा ठूलो भारी कस्ले बोक्न सक्छ,
घाँटी हेरि हाड निल्नु गरी खानु पर्छ ।
मात्रीभूमि जनमत माथि हुनु पर्छ,
तब मात्र प्रजातन्त्र फलिफाप हुन्छ ।।
प्रकाशन मिति : २०८२ जेठ १४