बुधबार ०६ साउन २०८३

✍️डा घनश्याम परिश्रमी न्यौपाने –

सबेर घण्टी बजेर हुन्न
समय बुझेमा अबेर हुन्न

बुझाउने बिल कता हरायौ
हिसाब उल्टो गरेर हुन्न

खराब चिन्तनले गर्छ हानि
विचार, सद्ज्ञान धेर हुन्न

तनाव पालेर मन दुखाई
म स्वस्थ नै छु भनेर हुन्न

प्रत्यक्ष अनुहार होस् उपस्थित
पसी दुलोमा लुकेर हुन्न

बगरको पीडा नि बुझ्ने गर्नू
सधैं नदीमा बगेर हुन्न

इमान केही बचाइराख्नुस्
सदैव साजिस रचेर हुन्न

नगर्नू विश्वास त्यो कुराको
कि जुन कुरा खास खुलेर हुन्न

रहन्न कोही जवान जहिल्यै
सदैव उस्तै उमेर हुन्न

जमेको पानी हुँदैन कञ्चन
हिँडेर जस्तो बसेर हुन्न

छ गर्नुपर्ने अनेक उद्यम
विकास माला जपेर हुन्न

अवश्य जिभ्रोले चाख्नुपर्छ
छ स्वाद कस्तो सुँघेर हुन्न

दिइन्छ पार्टी विशेष खाले
अचेल खासै भतेर हुन्न ।।
वजन–१२१–२२–१२१–२२

प्रकाशन मिति : २०८२ जेठ २३


Last Updated on: June 6th, 2025 at 3:44 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया