
श्याम घिमिरे,
सन्धिखर्क २०८२ असार २५—
सन्धिखर्क नगरपालीका ६ नं.वडा कार्यालयको आयोजनामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडाबासीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सर्वसाधारण नागरिक तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वडाले आ.व.२०८१/०८२ मा गरेका विकास निर्माण, सेवा प्रवाह तथा अन्य गतिविधिहरूको विवरण प्रस्तुत गरेको थियो । साथै नागरिकहरूले आफ्नो गुनासो, सुझाव तथा मागहरू खुलस्त रुपमा राख्ने अवसर समेत प्राप्त गरेका थिए ।

वडाध्यक्ष श्रीधर महत्राले जनतासँग प्रत्यक्ष संवाद गर्ने र पारदर्शी शासन प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले नागरिकका सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिवद्धता पनि जनाउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै निवर्तमान वडाध्यक्ष कृष्णबहादुर आचार्यले वडाका सबै समस्याहरु हलगर्न एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । आचार्यले कुर्सीमा जो भएपनि वडाको बिकास निर्माणमा लाग्नुको बिकल्प नभएको भन्दै जनताको हितमा कामगर्न जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो ।
वडा सचिव अनन्तमणी पोख्रेलको सञ्चालन र वडासदस्य नन्दलाल विश्वकर्माको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका वडासभापति ज्ञानराज न्यौपाने,एमाले वडा कमिटी सचिव मनिराम आचार्य, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टुकबहादुर चेवाली, राजमो वडा समिति अध्यक्ष ज्ञानबहादुर विक, नरपानी स्वास्थ्य चौकि प्रमुख जनस्वास्थ्य अधिकृत श्रवण पन्थी, न्यायिक सहजकर्ता लेखनाथ अर्याल,कृषि प्राबिधिक प्रदिप आचार्य, साना किसान सहकारी संस्था नरपानीका अध्यक्ष सुनिता बिक पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रमले स्थानीय तहमा उत्तरदायी शासन प्रणालीको अभ्यासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।