Trend

श्याम घिमिरे
साउन २२, अर्घाखाँची –

जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम बिहिवार सन्धिखर्कमा सम्पन्न गरेको छ । कार्यक्रममा सम्पन्न परियोजना, बजेट खर्चको अवस्था, र आगामी वर्षका प्राथमिकताबारे छलफल भएको थियो । कार्यक्रम बोल्दै जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर भेषराज भुसालले आर्थिक वर्ष २०८१/८२ मा ९७ दशमलव ९९ प्रतिशत भौतिक प्रगति र ८६ दशमलव १५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिनुभयो । भुसालले यसबर्ष देखि असारे विकासलाइ रोक्ने प्रयास गरिएको भन्दै आफ्नो कार्यालयले समयमै काम सम्पन्न गरेको दाबी गर्नुभयो । उहाँले अन्य कार्यालय भन्दा माथी उठेर आफुहरुले काम गरेकोपनि बताउनुभयो ।

जिल्लामा ८ हजार ५ सय ४४ हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुगेको, २६ हजार १ सय १३ हेक्टर खेतीयोग्य जमिनमध्ये २१ हजार २ सय ४७ हेक्टरमा खेती हुँदै आएको, ३ हजार १ सय १८ हेक्टरमा बाह्रैमास सिँचाइ सुविधा पुगेको साथै ५ हजार ४ सय २६ हेक्टरमा मौसमी सिचाइ सुविधा उपलब्ध रहेको भन्दै भुसालले बाँकी जमिनमा बसाइँसराई, जंगली वन्यजन्तु तथा अन्य विविध कारणले खेती हुन सकेको बताउनुभयो ।

आ.व.२०८०÷८१ मा प्राप्त १७ करोड ८० लाख ७८ हजार रुपैयाँको बजेटमध्ये १५ करोड ३४ लाख ६ हजार रुपैयाँ अर्थात् ८६ दशमलव १५ प्रतिशत खर्च भएको र गत वर्ष सञ्चालन भएका १३३ वटा सिंचाइ योजनामध्ये १२३ योजनाहरु सम्पन्न भएको बताउदै भुसालले २ वटा योजनाहरु बहुवर्षीय रहेका र ८ वटा योजनाहरु कार्यान्वयनमा जान नसकेको बताउनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयबाट ८६ वटा बाँध निर्माण, १५ दशमलव ८७ किमि पक्की कुलो निर्माण, ४ वटा पोखरी निर्माण, १९ हेक्टरमा थप सिंचाइ सुविधा विस्तार, ३ सय ९० हेक्टरमा सिंचाइ सुदृढीकरण, १ दशमलव ०१ किमि तटबन्ध, ४ दशमलव ३५ हेक्टर जमिन उकास, ३७ घर र ६१ हेक्टर जमिन सुरक्षित गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले सिंचाइको विकास बिना कृषक सफल हुन नसक्ने र खेतबारीमा खेतीगर्न गाह्रो हुने भएकाले सबै तहका सरकारले सिंचाइ योजनाको निर्माणमा विशेष ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।

शीतगंगा नगर प्रमुख छविलाल पौडेलले कार्यालयले गरेको कामको मुक्तकण्ठले प्रसंशा गर्दे आगामी दिनमा अझबढी प्रभावकारी रुपमा कामगर्न सुझाव दिनुभयो । भूमिकास्थान नगरप्रम्रमुख झविलाल थापाले कार्यालयले गरेको काम र यसवाट भएको प्रभावबारे जिज्ञासा राख्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कृषिजन्य वस्तुको उत्पादन विना आर्थिक समृद्धि सम्भव नहुने बताउदै कृषकलाई सम्मान गर्न र कृषि पेशाप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न आग्रह गर्नुभयो । अर्यालले कार्यालयको कामलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन जोड दिनुभयो ।

कार्यक्रममा बोल्ने सहभागीहरुले रचनात्मक सुझाव र जिज्ञासा सहित कार्यालयले गरेको कामप्रति प्रशंसा व्यक्त गरेका थिए । सहभागीहरूले चुनौती समाधान र दीर्घकालीन स्थायित्वमा जोड दिँदै आगामी वर्ष अझ प्रभावकारी सेवा दिन सुझाव समेत दिएका थिए ।

बिभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, निर्माण व्यवसायी, उपभोक्ता समितिका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको कार्यक्रम कार्यालयका प्राविधिक अधिकृत एवं सूचना अधिकारी रामजी भट्टराईको सञ्चालन र लेखापाल शिवहरी खनालको स्वागत मनतब्यमा सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने निर्माण व्यवसायी र उपभोक्ता समूहलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP